• Friday 31st of July 2026

बञ्चरेडाँडामा जेठदेखि फोहर विसर्जन गर्न सकिने


  • गोकर्णेश्वर अनलाइन

अहिलेकै गतिमा काम भए आगामी आगामी जेठ पहिलो सातादेखि बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिलसाइटमा काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिने भएको छ । केही समय कोरोना भाइरस र निर्माणका लागि आवश्यक पर्ने नदीजन्य सामग्री प्राप्त गर्न नसक्दा निर्माणको कामले गति लिन नसकेको भए पनि पछिल्लो समय निर्माणको सामग्री सहजरुपमा प्राप्त भएकाले सोहीअनुरुप निर्माणको काम भएकाले आगामी जेठ पहिलो सातादेखि काठमाडौँ उपत्यकाको फोहर विर्सजन गर्न सकिने आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख मनोज नकर्मीका अनुसार ल्याण्डफिलसाइट निर्माणको कामअन्तर्गत अहिले पोखरीको ढलानको काम भइरहेको छ । उक्त काम सकी फोहर विसर्जन गर्दै जाने र अन्य बाँकी काम गर्दै जाने तयारी रहेको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्दछ । काठमाडौँ महानगरपलिकाले केन्द्र सरकारले नै निर्माण गर्नुपर्छ भन्ने माग गरेपछि मन्त्रिपरिषद् बैठकले दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माणको काम शहरी विकास मन्त्रालयलाई दिने निर्णयअनुरुप मन्त्रालयले उक्त जिम्मेवारी पाएको हो । सोहीअनुरुप उक्त स्थानमा करीब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण भइरहेको छ ।

बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो । मूल्य अभिवृद्धि करबाहेक रु ३४ करोड ६८ लाख ७४ हजार ८९५ गरिएको सम्झौता भएको थियो । सम्झौता भएअनुरुप काम नसकेपछि निर्माण कम्पनीलाई एक वर्षको समय थप गरिएको थियो ।

निर्णयानुसार बाँध निर्माणको काम शहरी विकास मन्त्रालयले गर्ने र विजर्सनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागको रहेको छ । तेह्र वर्षदेखि नुवाकोटको सिसडोलमा उपत्यकाकाको १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । अव्यवस्थितरुपमा लामो सयसम्म एकै स्थानमा फोहर बिर्सन गरिएको भन्दै सिसडोलका स्थानीयवासीले पटकपटक विरोध गर्दै फोहर व्यवस्थापनको काम अन्यत्र सार्न दबाब दिँदै आएका छन् ।

उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिकटन फोहर निस्कन्छ । यसमा सबैभन्दा बढी कामपाबाट निस्कने गरेको छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी २०० गाडी फोहर लगिने गरिएको छ । सिसडोलका प्रभावित स्थानीयले एक हप्ता पहिले पनि स्वास्थ्य र शिक्षा सुनिश्चित गर्नुपर्ने भन्दै आठ दिनसम्म उपत्यकाको फोहर व्यवस्थापन कार्यमा बाधा पु-याएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology