• Friday 31st of July 2026

हुम्लाका दुई गाउँपालिका ‘सिल’


  • गोकर्णेश्वर अनलाइन

हुम्लामा कोरोना सङ्क्रमण दर उच्च भएपछि दुई गाउँपालिका ‘सिल’ गरिएको छ । बाजुरा जिल्लासँग सीमा जोडिएको ताँजाकोट गाउँपालिका र मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–५ मा सिल गरिएको छ ।

ताँजाकोट गाउँपालिकामा ४६ जनालाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएपछि अनिश्चित समयका लागि सिल गरिएको गाउँपालिका अध्यक्ष बाग्दल मल्लले जानकारी दिनुभयो । गाउँपालिकामा कोरोनाका सङ्क्रमितको सङ्ख्या बढेपछि ताँजाकोटका सम्पूर्ण कार्यालय सिल गरिएको हो ।

बुधबारबाट कोरोना परीक्षणमा झण्डै ५० प्रतिशतमा सङ्क्रमण पुष्टि भएपछि कार्यालय अर्को सूचना जारी नभएसम्मका लागि सिल गरिएको हो । सामान्य रुघाखोकी र ज्वरो आएका ४६ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा १९ मा सङ्क्रमण देखिएपछि थप फैलिन नदिन बढी जनसम्पर्क हुने कार्यालय सिल गरिएको गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कार्यालयका सबै कर्मचारी नै महामारीमा जुट्नुपर्ने भएकाले नियमित काम स्थगन गरेर कार्यालय बन्द गर्ने निर्णय गरेको हौँ ।”

गाउँपालिका आफैँले ५०० वटा एन्टिजेन कीट खरिद गरेर बुधबारबाट परीक्षण शुरु गरेको थियो । पहिलो दिनमै आठ जनामा सङ्क्रमण पुष्टि भएको ताँजकोटमा बिहीबार स्वास्थ्यकर्मीको चारवटा टोली बनाएर विभिन्न बस्तीमा परीक्षण गर्दा कूल सङ्क्रमितको सङ्ख्या १९ पुगेको छ । अझै केही बस्तीमा परीक्षण गर्न बाँकी रहेकाले सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्याँकुले जानकारी दिनुभयो ।

यस्तै जिल्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा शुक्रबार चार स्थानीयवासीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वडा नं ५ मा १५ जनामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएपछि वडा पाँचको गोठीगाउँलाई १० दिनका लागि सिल गरिएको गाउँपालिका अध्यक्ष कृष्ण रोकायाले जानकारी दिनुभयो ।

सिलपछि एक घरबाट अर्को घरमा समेत जानलाई रोक लगाइनुका साथै गाउँमा स्वयंसेवक परिचालन गरिएको गाउँपालिका अध्यक्ष रोकायाले बताउनुभयो । गाउँपालिकामा रहेका प्रत्येक वडामा परीक्षणको दायरालाई बढाइने उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology