• Friday 31st of July 2026

अपिहिमालमा यार्सागुम्बा सङ्कलक बेपत्ता


  • गोकर्णेश्वर अनलाइन

अपिहिमाल गाउँपालिकामा एक यार्सागुम्बा सङ्कलक वेपत्ता भएका छन् । अपिहिमाल–४ नौपाटा घर भएका मोहनसिंह ठेकरे वेपत्ता भएका हुन् । यही जेठ ५ गते अपिहिमाल–३ क्षतिको नाउरखाल वनमा यार्सागुम्बा सङ्कलन गर्न गएका ठेकरे हिउँ पहिरोमा परी वेपत्ता भएका हुन् ।

हिउँ पहिरोमा परी वेपत्ता भएका ठेकरेको छाता मात्र भेटिएको छ । “आफन्तले खोजी गर्दा पनि अहिलेसम्म केही भेटिएको छैन”, अपिहिमाल–४ का वडाध्यक्ष रवीन्द्रसिंह बोहराले भन्नुभयो, “गाउँले गएर खोजी गरे पनि अझै भेटिएको छैन ।”

घटनाबारे बुझ्न प्रहरी टोली खटाइएको प्रहरी चौकी खण्डेश्वरीका सहायक निरीक्षक तेजराम महरले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आएको छैन । अहिले दार्चुलामा अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले यार्सागुम्बा सङ्कलनका लागि सङ्कलन अनुमति नदिँदै सङ्कलकहरु यार्सा पाइने लेकमा भरिएका छन् । कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमण बढेका कारण यस वर्ष तत्काल यार्सागुम्बा सङ्कलन अनुमति नदिन आग्रह गरेको थियो । सोहीअनुसार अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले सङ्कलन अनुमति रोकेको थियो तर अहिले दार्चुलाको व्यास तथा अपिहिमाल गाउँपालिकाका यार्सागुम्बा पाइने पाटनहरुमा सङ्कलकहरु गएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology