• Friday 31st of July 2026

निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कारबाही


  • गोकर्णेश्वर अनलाइन

कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । प्रशासनले निषेधाज्ञा अवधिभर अत्यावश्यकबाहेकका सबै सेवा बन्द रहने भए पनि निषेधाज्ञा उल्लङ्घन गर्नेको सङ्ख्या भने बढ्दो छ ।

निषेधाज्ञाको समयमा खाद्यान्न, तरकारी, डेरी, फलफूल बाहेकका सबै पसल बन्द गर्ने, अत्यावश्यक बाहेकका सबै सवारी चल्न नपाउने निर्णय प्रशासनले गरे पनि दैनिक रूपमा निषेधाज्ञा उल्लङ्घन गर्ने बढेपछि उनीहरूलाई कारबाही गर्दै आएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार निषेधाज्ञाको उल्लङ्घन गर्ने ५०४ सवारी कारबाहीमा परेका छन् । “विभिन्न बहाना बनाई सवारीमा अनावश्यक रूपमा हिँड्डुल गर्ने सवारी नियन्त्रणमा लिई पहिलो पटक सम्झाईबुझाई ट्राफिक नियमअनुसार जरिवाना गरेर छाडेका छौं”, उहाँले भन्नुभयो ।

हालसम्म जिल्लाका विभिन्न ठाउँबाट निषेधाज्ञा अवज्ञा गरी चलाउने चारपाङ्ग्रे सवारी साधन ७६ र मोटरसाइकल ४२८ कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिनुभयो ।

निषेधाज्ञा उल्लङ्घन गर्नेमध्ये १७ अटो र ६३ मोटरसाइकलका कागजात नभएकाले ट्राफिक नियमअनुसार कारबाही गरिएको उहाँको भनाइ छ । यस अवधिमा निषेधाज्ञा उल्लङ्घन गरी हिँड्डुल गर्ने, सार्वजनिक स्थानमा हिँड्डुल गर्दा मास्क नलगाउने ४९२ जनालाई समेत होल्ड गरी सम्झाईबुझाई छाडिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस अवधिमा पसल, होटेल सञ्चालन गर्ने १३ जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा बुझाइएको पनि उहाँले जानकारी दिनुभयो । जिल्लामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३५ पुगेको छ । सोमध्ये १३३ जना कोरोना मुक्त भएका छन् । हालसम्म कोरोनाका कारण दोस्रो लहरमा १३ जनाले ज्यान गुमाउनु परेको छ । सङ्क्रमितमध्ये ७७६ होम आइसोलेशनमा रहेका छन् भने २८ जना संस्थागत आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology