• Sunday 26th of July 2026

नेप्सेमा नयाँ इतिहास, बजार पूँजीकरण ३९ खर्ब १३ अर्ब


  • गोकर्णेश्वर अनलाइन

कोरोना कहरका कारण मुलुकको सम्पूर्ण आर्थिक गतिविधि ठप्प भए पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक भने हालसम्मकै उच्च स्थानमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा नयाँ इतिहास कायम भएको छ । अधिकांश लगानीकर्ता निषेधाज्ञाका कारण घरमै रहेको तथा विद्युतीय कारोबारलाई बढावा दिइएका कारण नेप्सेले नयाँ रेकर्ड कायम गरेको हो ।

साताको पहिलो दिन आज नेप्से ३२.८१ अङ्कले वृद्धि भई दुई हजार ८२० मा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.२३ ले वृद्धि भई ५०७.२० मा पुगेको छ । यो पनि हालसम्मकै उच्च बिन्दु हो । कारोवार रकमसमेत झण्डै १२ अर्बको हाराहारीमा पुगेको छ । कूल २२० कम्पनीको दुई करोड ५१ लाख ६३ हजार ६६० कित्ता शेयर रु ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार ७२८ मा खरिद बिक्री भए ।

आइतबारको कारोवारपछि बजार पूँजीकरण पनि नयाँ उचाईमा पुगेको छ । यो मुलुकको कूल ग्राहस्थ उत्पादनभन्दा माथि पुगेको हो । नेप्सेका अनुसार कूल रु ३९ खर्ब १३ अर्ब १५ करोड आठ लाख ७३ हजार ६१ बराबरको बजार पूँजीकरण भएको छ ।

कर्णाली डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंकका शेयरमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीको शेयरमा १० प्रतिशतको वृद्धि भएको छ । यस्तै ९.९७ प्रतिशतले वृद्धि भएको महालक्ष्मी विकास बैंकको शेयरमा समेत आज सकारात्मक सर्किट लागेको छ । सांग्रिला डेभलपमेन्ट बैंक ९.९३, युनाइटेड इदीमर्दी हाइड्रोपावर ९.९३, कालिका पावर कम्पनी ९.८६, वेष्ट फाइनान्स कम्पनी ९.८५, गुडविल फाइनान्स ९.८५, सप्तकोशी डेभलपमेन्ट बैंक ९.८४ र बरण हाइड्रोपावरका लगानीकर्ताले ९.८४ प्रतिशतले कमाएका छन् ।

यस्तै लगातर सकारात्क सर्किट लाग्दै आएको रुरु जलविद्युत् परियोजना ३.७३, समता घरेलु लघुवित्त ३.६८, गुराँस लघुवित्त २.३७, आरम्भ चौतारी लघुवित्त २.१७ र नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्रका लगानीकर्ताले १.९३ प्रतिशतले गुमाएका छन् ।

कारोेवारका आधारमा नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ४१ करोड ८६ लाख ४४ हजार ७४३ बराबरको कारोवार भयो । नेशनल लाइफ इन्स्योरेन्स रु ३७ करोड १४ लाख, ज्योति विकास बैंक रु २३ करोड ७७ लाख चार हजार ७९४, मेगा बैंक रु २२ करोड ४७ लाख ८२ हजार ८०५, रिमा विकास बैंक रु २२ करोड २४ लाख १८ हजार २४६, अरुण भ्याली हाइड्रोपावर रु २० करोड ७२ लाख ३१ हजार बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology