• Thursday 30th of July 2026

चोरी तस्करी नियन्त्रणका लागि ड्रोन क्यामेराको सहायता


  • गोकर्णेश्वर अनलाइन

वनमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्नका लागि यहाँ ड्रोन क्यामेराको सहायताले निगरानी राख्न थालिएको छ । डिभिजन वन कार्यालयले काठ तस्करी, जग्गा अतिक्रमण, वन्यजन्तुको तस्करीलगायतका नियन्त्रणका लागि ड्रोन क्यामेराबाट निगरानी राख्न थालेको हो । दुईवटा ड्रोन क्यामेरा रु १० हजार भाडा तिर्ने गरी प्रयोगमा ल्याइएको छ ।

सुदूरपश्चिम प्रदेशमै पहिलोपटक ड्रोन क्यामेराको प्रयोग गरी वन क्षेत्रमा गस्तीको कार्यलाई अगाडि बढाइएको छ । डिभिजन वन कार्यालयका डिभिजनल अधिकृत अजयविक्रम मानन्धरले ड्रोन क्यामेराको प्रभावकारिताका आधारमा आगामी आवमा कार्यालय आफैँले ड्रोन क्यामेरा खरिद गरी प्रयोगमा ल्याउने योजना बनाइएको बताउनुभयो । त्यसका लागि तालिमप्राप्त जनशक्ति तयार गरिने उहाँको भनाइ छ ।

“चुरे क्षेत्रलगायतमा बाटो नहुँदा चोरी शिकारी र काठ तस्करी रोक्न निकै गाह्रो छ, पैदल गस्ती गर्नसमेत सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “यस्तो ठाउँमा ड्रोनको प्रयोग गरी सहजै त्यस क्षेत्रको वस्तुस्थितिका बारेमा सहजै जानकारी लिन सकिन्छ ।”

कोरोना महामारीका बेला सबै ठाउँमा कर्मचारी परिचालन गरी गस्तीको कार्य गर्न नसकिने अवस्थामा ड्रोन क्यामेराबाट गस्तीको काम गर्न सकिने उहाँले बताउनुभयो । “पहिला हिँडेर, घोडा, हात्ती, साइकल र गाडीको प्रयोग गरी वन गस्ती गरिँदै आएको थियो”, उहाँले भन्नुभयो, “अब पुरानो शैलीलाई छाडेर नयाँ अभ्यास थालिएको हो ।”

चोरी तस्करी र जग्गा अतिक्रमण हुने संवेदनशील क्षेत्रको पहिचान गरी ड्रोनका माध्यमबाट निगरानी राख्ने कार्य अगाडि बढाइएको उहाँको भनाइ छ । कोरोना महाकारीका बेला सबै ठाउँमा कार्यालयका कर्मचारी परिचालन गर्न नसकिने भएकाले त्यस्तो ठाउँमा ड्रोन सहयोगी हुने बताइएको छ ।

रातीका बेला वन कार्यालयले पैदल र गाडीमा कर्मचारी परिचालन गरी गस्ती गर्ने र दिउँसो ड्रोनका माध्यमले वन माथि निगरानी राख्ने योजना बनाएको छ । “बन्दाबन्दीका बेला जग्गा अतिक्रमण र काठ तस्करीका घटना बढेका छन्”, अधिकृत मानन्धरले भन्नुभयो, “त्यसलाई सामुदायिक वनका पदाधिकारी, सुरक्षा निकायको सहयोग लिई न्यूनीकरण गरेका छौँ, अझै यस कार्यलाई प्रभावकारी बनाउन ड्रोनको सहायता लिएका छौँ ।”

गत वर्ष बन्दाबन्दीका बेला डिभिजन वन कार्यालयले चोरी शिकारी, काठ तस्करी रोक्नका लागि स्वचालित क्यामेरा (क्यामेरा ट्रयापिङ) जडान गरेको थियो । क्यामेरा ट्रयापिङका सहायताले आधा दर्जन बढी काठ चोरी गर्ने र वन्यजन्तुको तस्करी गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कारवाही गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology