• Thursday 30th of July 2026

लिचीको दाना अड्किएर छ महिने बालकको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

कञ्चनपुरको भीमदत्त नगरपालिका–५ मा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बुधबार साँझ लिचीको दाना अड्किएर छ महिने बालक वीरेन्द्र चन्दको मृत्यु भएको जानकारी दिनुभयो ।

“खेल्दाखेल्दै लिचीको दाना खाँदा अड्किएर अस्पताल लगिएको थियो”, उहाँले भन्नुभयो, “महाकाली अस्पताल पुग्दापुग्दै चिकित्सकले मृत घोषणा गरे ।”

बालिका गर्भवती बनाउने बुवा पक्राउ

कञ्चनपुर प्रहरीले १३ वर्षीया छोरीलाई बलात्कार गरी गर्भवती बनाउने बुवालाई पक्राउ गरी कारवाही अघि बढाएको छ । यहाँको बेदकोट नगरपालिकामा ५५ वर्षीय पुरुषले आफ्नै छोरीलाई गर्भवती बनाएको खबरपछि पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाइएको छ ।

“प्रारम्भिकरूपमा हेर्दा बालिका गर्भवती रहेको सात महिनाभन्दा बढी समय भइसकेको छ”, प्रवक्ता थापाले भन्नुभयो, “घरमा मौका छोपी ती पुरुषले एक वर्षअघिदेखि छोरीलाई बलात्कार गर्दै आएको देखिन्छ ।” प्रहरी स्रोतका अनुसार शुरुमा डर, त्रासले ती बालिकाले बुवाले गर्ने घटना बाहिर ल्याउन सकिनन् । पेट बढ्दै गएपछि आफन्तले थाहा पाएपछि स्थानीयवासीमार्फत प्रहरीमा त्यसको खबर पुग्यो ।

“बुवाले नै बलात्कार गरेको शुरुमा बालिकाले भन्न गाह्रो मानिन्”, प्रहरी स्रोतले भन्यो, “पछि अनुसन्धान गर्दै जाँदा बालिकाले घटनाको बेलीविस्तार पोखिन् ।” अहिले बालिकालाई सेफहाउसमा राखिएको छ भने अभियुक्त बुवा प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology