• Thursday 30th of July 2026

यस वर्ष तनहुँमा छ लाख २५ हजार बिरुवा उत्पादन


  • गोकर्णेश्वर अनलाइन

डिभिजन वन कार्यालय तनहुँद्वारा यस वर्ष विभिन्न प्रजातिका गरी छ लाख २५ हजार बिरुवा उत्पादन गरेको छ । डिभिजन वन कार्यालय र उक्त कार्यालय माहत रहेका सबडिभिजन कार्यालयबाट गरी उक्त परिणामका बिरुवा उत्पादन गरेको हो ।

जिल्लामा गत वर्षको तुलनामा यस वर्ष दुई लाख ६३ हजार कम बिरुवा उत्पादन भएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अरुण पराजुलीले जानकारी दिनुभयो । गत वर्ष तनहुँमा विभिन्न प्रजातिका गरी आठ लाख ८८ हजार बिरुवा उत्पादन गरी वितरण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार चाँप, तेजपात, चिउरी, टाँकी, अशोका, कटहर, कपूर, जामुना, निमारो, अम्बा, अमला, धुपी, म्याङगोस्टिन, बडहर, कल्की फूल, लप्सी, कुरिलो, बेल, राइखनायो, श्रीखण्ड, हर्रो, बर्रो, टिमुर, सिमल, खयरलगायतका ३२ प्रजातिका बिरुवा उत्पादन गरिएको छ ।

कार्यालयको नर्सरीमा वन, जडीबुटी, फलफूल र डालेघाँसलगायतका बिरुवा उत्पादन गरी निःशुल्करूपमा वितरण गर्न थालिएको सो कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालयले तीन लाख २५ हजार र ऋषिङ, म्याग्दे, देवघाट, बन्दीपुर गाउँपालिका र व्यास, शुक्ला नगरपालिका गरी छवटा सबडिभिजनले ५० हजारका दरले तीन लाख गरी छ लाख २५ हजार बिरुवा उत्पादन भएको उहाँले बताउनुभयो ।

डिभिजन वन कार्यालय मातहत रहेका आठवटा सबडिभिजनमध्ये भानु र भिमाद सबडिभिजनले यस वर्ष बिरुवा उत्पादन नगरेका कारण पनि गत वर्षको तुलनामा कम बिरुवा उत्पादन भएको उहाँले बताउनुभयो । जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित १४० मेगावाट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाले आयोजनाबाट प्रभावित भएका पालिका एवं सर्वसाधारणलाई बिरुवा उत्पादन गरेर निःशुल्करूपमा वितरण गर्ने गरी डिभिजन वन कार्यालयसँग सम्झौता भएको छ ।

उक्त आयोजनाले सामुदायिक, राष्ट्रिय र कबुलियती वनमा वृक्षरोपण गरेमा प्रतिहेक्टर रु ३० हजार र डिभिजन वन कार्यालयले बिरुवा उत्पादन गर्दा प्रतिबिरुवा रु १० का दरले आयोजनाले अनुदान दिने सम्झौता भएको सो कार्यालयले जनाएको छ । कार्यालयले जेठ ३० गते आइतबारदेखि उत्पादित बिरुवा तयारी भएकाले वितरण शुरु गरिएको डिभिजन प्रमुख कोमलराज काफ्लेले बताउनुभयो । आयोजनाबाट रुख कटान गरी प्रभावित भएका पालिकामा वृक्षरोपणका लागि तयारी बिरुवा वितरण गर्न थालेका हौँ । उहाँले भन्नुभयो, “कार्यालयले बिरुवा वितरण थालेसँगै बिरुवा लिन आउनेको भीड लागेको छ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology