• Thursday 30th of July 2026

टीकापुर बजार क्षेत्र डुबानको जोखिममा : व्यापारी चिन्तित


  • गोकर्णेश्वर अनलाइन

भजनी, २ असार (रासस) : कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञाका कारण कैलालीको टीकापुर बजार क्षेत्रमा विकास निर्माणको काम ठप्प बनेको छ ।

विकास निर्माणको काम ठप्प हुँदा बजार क्षेत्रमा डुवानको जोखिम बढेको छ । बजार क्षेत्रमा अहिले तीन ठूला आयोजनाको काम चलिरहेको छ । तीमध्ये कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण ब्लक नं। ‘ए’ अन्तर्गत सडक निर्माण र ढल निकासको काम पूर्ण रुपमा बन्द भएको छ भने जमरा पुलदेखि टीकापुर बसपार्कसम्मको काम थोरै कामदार लगाएर भइरहेको छ । वर्षातको समयमा सडक निर्माण र ढल निकासको काम अलपत्र हुँदा बजारक्षेत्रमा डुवानको जोखिम बढेको भन्दै स्थानीय व्यापारी त्रसित बनेका छन् ।

सडकको उचाइ बढ्दा एकातिर पुराना घर तथा भवन सडकभन्दा तल झरेका छन् भने अर्कोतिर भएका नाली पनि अलपत्र छन् । पानीको निकास कतै छैन । व्यवसायी हेमन्त रावलका अनुसार उचित ढल निकासको व्यवस्थापन नहुँदा वर्सेनि डुवानमा पर्ने टीकापुर बजार क्षेत्र यसवर्ष झनै जोखिममा रहेका छन् । “वर्षातको पानीको निकास कतै छैन । अलिअलि निकास भएका क्षेत्रहरू पनि अहिले भइरहेको विकासका कामले अवरुद्ध बनाइसकेको छ”, उहाँले भन्नुभयो, “हामी एकदमै त्रासमा छौं । एकदुई दिनको झरीमा त डुवान हुन थालिसक्यो । वर्षातको बाँकी समय कसरी बिताउने होला भन्ने चिन्तामा छौं ।”

लामो समयदेखि कपडाको व्यापार गर्दै आउनुभएका वासुदेव पौडेलले सबैतिरबाट नाला बन्द हुँदा पसलको अगाडिबाट आवतजावत गर्ने समस्या हुन थालेको बताउँदै निर्माण कम्पनीको कमजोरीका कारण व्यापारीले सास्ती खेप्नुपर्ने भएको छ भन्नुभयो । “बजार क्षेत्रको समस्या अहिलेको मात्रै होइन । पहिला पनि कैयौंपटक यहाँका व्यापारीले लाखौंको क्षति व्यहोरिसकेको छ”, उहाँले भन्नुभयो, ‘निर्माण कम्पनी र नगरपालिकाले पानीको निकासका लागि समयमै सोच्नुपर्ने देखिन्छ । यस्तै अवस्था रहे यहाँका व्यापारीलाई निकै समस्या हुनसक्छ ।”

मुख्य बजार क्षेत्रमा निर्माणको काम गर्दै आउनुभएका महालक्ष्मी एमके जेभीका निर्देशक चक्रबहादुर शाहले आयोजनाको डिजाइन नै परिवर्तन भएका कारण काम रोकिएको बताउँदै तत्काल काम आगाडि बढ्न सक्ने कुनै सम्भावना नभएको जानकारी दिनुभयो । “हामीले काम गर्दै जादा आयोजनाको डिजाइन परिवर्तन भयो । त्यसपछि काम रोक्नु परेको हो”, उहाँले भन्नुभयो, “आयोजनाको नयाँ डिजाइन विभागबाट पास भएर आएपछि तुरुन्तै काम शुरु हुन्छ ।”

त्यस्तै छ लेन सडकको कामको जिम्मा पाएका रेखा निर्माण सेवाका इञ्जिनीयर गगन शाहीले कोरोनाका कारण भएको निषेधाज्ञाले काममा प्रभाव पारेको बताउँदै वर्षातको पानी निकासका लागि भए पनि काम भइरहेको जानकारी दिनुभयो । “जेठ मसान्तसम्म सडकको बीचको भाग कालोपत्र गरिसक्ने हाम्रो लक्ष्य थियो । तर बढ्दो कोरोना भाइरस सङ्क्रमणका कारण जारी निषेधाज्ञाले लक्ष्य अनुसारको काम हुन सकेन”, उहाँले भन्नुभयो, “सकेजति काम गर्दै आएका छौं । बिद्युत् पोल हाम्रा लागि ठूलो बाधक बन्दै आएको छ ।”

त्यस्तै बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजनाको काम पनि प्रभावित भएको छ । टुँडी कन्ट्रक्शनले जिम्मा पाएको सो काम शुरु भएको केही महिनामै भएको निषेधाज्ञाका कारण नाली निर्माणको काम अगाडि बढ्न नसक्दा बजार क्षेत्र डुवानको उच्च जोखिममा परेको छ । निर्माण कम्पनीले केही भागमा मात्र नाली खनेको छ । नाली निर्माण हुन नसक्दा पानीको निकास बन्द भएपछि डुवान हुन सक्ने भन्दै स्थानीयवासी त्रसित भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology