• Wednesday 29th of July 2026

अमेरिकी राष्ट्रपति बाइडेन र रुसी राष्ट्रपति पुटिनबीच बहुप्रतिक्षित भेटवार्ता आज


  • गोकर्णेश्वर अनलाइन

जेनेभा, २ असार (रासस–एपी) –– अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज बुधबार स्वीट्जरल्यान्डको राजधानी जेनेभामा पहिलो प्रत्यक्ष भेटवार्ता हुँदैछ ।
अमेरिका–रुस सम्बन्ध निकै तल्लो स्तरमा पुगेकै समयमा यो बहुप्रतिक्षित भेटवार्ता हुन लागेको हो ।
विगत चार महिनादेखि दुबै नेताले एकअर्का विरुद्ध तिखा व्यङ्ग्य र धम्कीपूर्ण भाषा प्रयोग गर्दै आएका थिए । राष्ट्रपति बाइडेनले अमेरिकी चासोका क्षेत्रमा रुसी संरक्षणप्राप्त ह्याकरहरुले द्वेषपूर्ण साइबर आक्रमण गर्न रुसी राष्ट्रपतिले उक्साएको आरोप लगाउनु भएको छ । साथै उहाँले रसियाका अग्रणी विपक्षी नेतालाई अलोकतान्त्रिक विधिबाट जेलमा राखेको तथा अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको बताउनु भएको छ ।
तर रुसी राष्ट्रपति पुटिनले अमेरिकी आरोपहरुको खण्डन गरिरहनु भएको छ । अमेरिकी संसदमा गत जनवरी ६ मा भएको घटनालाई दृष्टान्त बनाउँदै राष्ट्रपति पुटिनले अमेरिकाले लोकतान्त्रिक मूल्यमान्यतालाई लिएर अरुलाई पाठ नपढाएको बेश हुने बताउनु भएको छ ।
उहाँले अमेरिकी गुप्तचर निकायहरुले जेसुकै देखाए पनि अमेरिकी कुनै पनि चुनावलाई लक्षित गरेर आफूहरुले हस्तक्षेप वा साइबर आक्रमण नगरेको स्पष्ट गर्नु भएको छ ।
अहिले, दुबै नेता जेनेभामा प्रत्यक्ष भेटवार्ताका लागि तयार हुनु भएको छ । यो वार्ता चार देखि पाँच घण्टा चल्ने अनुमान गरिएको छ । तर वार्ताबाट तत्कालै कुनै निश्कर्ष निस्कनेमा दुबै नेता विश्वस्त छैनन्, तर वार्ता र संवादको ढोका यस भेटवार्ताले शुरु गर्नेछ ।
राष्ट्रपति बाइडेनले यो भेटवार्ता दुबै देशबीच सम्बन्ध सामान्यीकरणमा एउटा महत्वपूर्ण कदम हुने बताउनु भएको छ । संयुक्तराज्य अमेरिका र रुस दुबैले आपसी सम्बन्धमा “स्थायित्व र अनुमानयोग्य” हुने विश्वास लिएको पनि राष्ट्रपति बाइडेनले बताउनु भएको छ ।
बाइडेनले गत अप्रिलमा रुसी राष्ट्रपति पुटिनलाई टेलिफोन गरी अमेरिकी चुनावलाई प्रभावित तुल्याउन सक्रिय अमेरिकामा रहेका धेरै जना रुसी कुटनीतिज्ञलाई देश निकाला गर्ने तथा रुसी केही दर्जन व्यक्ति एवं कम्पनीमाथि प्रतिबन्ध लगाउने जनाउ दिनु भएको थियो ।
अमेरिकी यस कदमको विरोधमा रुसले समेत प्रतिशोधपूर्ण कारबाही गरेको थियो ।
तर अहिले रुसी राष्ट्रपति र उहाँको टोली बाइडेनसँगको शिखर वार्ताका लागि जेनेभास्थित सम्मेलन स्थल भिल्ला ला ग्रान्जेमा आइपुग्न लागेको छ । त्यसलगत्तै बाइडेन र उहाँको टोली सम्मेलन स्थलमा पुग्नेछ । स्वीट्जरल्यान्डका राष्ट्रपति गाए पार्मिलिनले दुबै नेतालाई स्वागत गर्नु हुनेछ ।
बाइडेन र पुटिनबीच संक्षिप्त भेटघाट पछि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रुसी विदेश मन्त्री सर्गेई लाभरोभ पनि सहभागी हुनु हुनेछ । त्यसपछि दुई पक्षीय भेटवार्तामा दुबै पक्षका वरिष्ट अधिकारीहरु संलग्न हुनु हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology