• Thursday 30th of July 2026

हेटौँडाबाट १४३ किलो गाँजासहित तीन पक्राउ


  • गोकर्णेश्वर अनलाइन

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका–११ थाना भ-याङस्थित सडकखण्डबाट १४३ किलो ३०० ग्राम लागुऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ सिगार्से बस्ने २८ वर्षीय सनकबहादुर तामाङ, सोही नगरपालिका वडा नं ८ का २४ वर्षीय सोमे तामाङ र मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का १८ वर्षीय सविन तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बिहान ३ः०० बजेको समयमा मनहरिबाट हेटौँडातर्फ आउँदै गरेको ना१ख ९९१० नंको कन्टेनर गाडीलाई रोकी जाँच गर्ने क्रममा लुकाइछिपाइ ल्याइएको उक्त परिणामको गाँजा बरामद भएपछि प्रहरीले गाडी चालक सनकबहादुर, सहचालक सोमे र सवार सविनलाई पक्राउ गरेको हो ।

उनीहरुलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रिमालले बताउनुभयो । पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology