• Thursday 30th of July 2026

मादक पदार्थ सेवन गरी मोटरसाइकल जलाउने दुई पक्राउ


  • गोकर्णेश्वर अनलाइन

खाँडादेवी गाउँपालिका–३ आपचौरमा रोकिराखेको मोटरसाइकलमाथि आगजनी र तोडफोड गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

यही असार ८ गते मध्यरातमा सडकमा रोकिराखेको बा १९ प ७१ नम्बरको मोटरसाइकलमा आगजनी गर्ने र प्रदेश ३–०२–०१३ प १३ नम्बरको मोटरसाइकल तोडफोड गर्नेलाई गए राति पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले जानकारी दिनुभयो ।

आगजनी र तोडफोड गरी फरार रहेका सोही वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी वर्ष २८ का पदमबहादुर कार्की र अर्का सोही ठेगाना भएका वर्ष ३० का लक्ष्मण खत्री रहेका छन् । अभियुक्तद्वयले उक्त वडाका स्थानीयको मोटरसाइकलमा क्षति पुराएको भन्दै पीडितले प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।

रातको समयमा मादक पदार्थ सेवन गरी उक्त घटना गर्ने अभियुक्तलाई आज जिल्ला अदालतबाट मुलुकी अपराध संहिताअनुसार आपराधिक उपद्रव मुद्दा शीर्षकमा म्याद थप गरी अनुसन्धान थालिने प्रहरी नायब उपरीक्षक ढुङ्गानाले बताउनुभयो ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार अदालतबाट आपराधिक उपद्रव गरेको ठहरिएमा तीन वर्ष कैद, रु तीस हजारसम्म जरिवाना साथै हानी नोक्सानी भएको बिगो बराबरको क्षतिपूर्ति कसुरदारबाट पीडितलाई भराइ दिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology