• Thursday 30th of July 2026

लिच्छवि र मल्लकालीन सम्पदा जोगाउँदै वाग्मती सरकार


  • गोकर्णेश्वर अनलाइन

वाग्मती प्रदेश सरकारले लिच्छवि र मल्लकालीन प्राचीन सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने योजना अघि सारेको छ । भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले लिच्छवि र मल्लकालीन समयमा निर्माण गरिएको तर संरक्षणको अभावमा जीर्ण अवस्थामा पुगेका ढुङ्गेधारा तथा विभिन्न गढीलाई मौलिकताको आधारमा पुनःनिर्माणको काममा तीव्रता दिएको हो । भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुँयालले संरक्षणको अभावमा जीर्ण अवस्थामा पुगेका त्यस्ता प्राचिन सम्पदाहरूलाई मौलिकताका आधारमा पुनः निर्माणको काममा तीव्रता दिएको राससलाई बताउनुभयो । उहाँले मकवानपुरको थाहा नगरपालिका–२ पुरानो पालुङ गाउँस्थित दुई, वडा नम्वर–९ चित्लाङको गुर्जुधारा र नारायणहिटीमा गरी आठ तथा हेटौँडा उपमहानगरपालिका–९ मा एउटा गरी ११ वटा ढुङ्गेधाराको पुनःनिर्माणको काम भइसकेको र यही असार मसान्त भित्रमा सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

मन्त्री फुँयालका अनुसार नुवाकोट, काठमाडौं जिल्लाको शङ्खरापुर र मनोहरा नगरपालिका क्षेत्रमा क्रमशः एक÷एक वटा गरी ३ वटा ढुंगेधाराको निर्माण कार्य सम्पन्न भइसकेको र यही असार मसान्तभित्र सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ । प्रदेश सरकारले प्रदेशको १३ वटै जिल्लामा वनस्पतिको उत्पादन, जैविक विविधता र सिमसारको संरक्षण तथा बर्खे पानीको थोपा सङ्कलन गर्ने कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको बताउँदै जनतालाई रोजगारीको अवसर उपलब्ध गराउन सामाजिक विकास मन्त्रालय र कृषि मन्त्रालयसँग सहकार्य भइरहेको छ भन्नुभयो ।

मन्त्री फुँयालले प्रदेशको विभिन्न जिल्लामा कृषि शीतभण्डार भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै कृषि उत्पादन र पशुपालनलाई उच्च प्राथमिकतामा राखेर कृषकलाई आर्थिक आत्मनिर्भरतातर्फ उन्नमुख गराउन सरकारको लक्ष्य रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा ३० वटा विद्युतीय बस खरिद गरी २०७९ जेठको दोस्रो हप्तासम्ममा हेटौँडाबाट काठमाडौंसहित विभिन्न सात शहरमा यातायात सञ्चालन गर्ने योजना प्रदेश पूर्वाधार यातायात व्यवस्था निर्देशनालयले अगाडि बढाइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार हेटौँडा, भरतपुर, काठमाडौं, सिन्धुलीलगायत सातवटा स्थानमा स्थानीय तहद्वारा उपलब्ध गराएको जग्गामा नेपाल विद्युत् प्राधिकरणमार्फत विद्युतीय चार्जिङ स्टेशनको निर्माण कार्य प्रारम्भ भइसकेको छ ।
मन्त्री फुँयालले प्रदेश सरकारले सङ्घीय सरकारसँग सहकार्य गरेर हेटौँडाबाट काठमाडौं जोडिने भीमफेदी–कुलेखानी सुरुङमार्ग आगामी चार वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय वोलपत्र आह्वान भइसकेको र केही महिनाभित्रै सरकार तथा निर्माण कम्पनीबीच सम्झौता सम्पन्न हुने जानकारी दिनुभयो ।

प्रदेश सरकारले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने अभियान अन्र्तगत सबै नागरिकलाई अनिवार्य रुपमा खोप लगाउने, सङ्क्रमणबाट प्रभावित भएका बिरामीलाई उपचारका लागि तत्काल सहजीकरण गर्ने र कोभिड अस्पतालहरुमा अनिवार्य रुपमा अक्सिजन प्लान्ट स्थापनाका लागि वोलपत्र आह्वान गर्ने बताउँदै उहाँले पाँच वटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भइरहेको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology