• Thursday 30th of July 2026

मासिन थाल्यो वरपीपल


  • गोकर्णेश्वर अनलाइन

डिभिजन वन कार्यालयले वरपीपल रोप्ने अभियान चलाएको छ । सडक विस्तार तथा मानवीय गतिविधिका कारण वरपीपल मासिन थालेको जनाइएको छ ।

कार्यालयले वरपीपलले प्रशस्त मात्रामा अक्सिजन दिने तथा वातावरणलाई स्वच्छ राख्न सहयोग पु¥याउने भएकाले सार्वजनिक तथा खुला क्षेत्रमा रोप्ने गरी अभियान सञ्चालन गरिएको जनाएको छ ।

धेरै मात्रामा वरपीपलका रुख विस्तार गर्न सकिएमा बस्तीमा बाँदर आउने क्रमसमेत रोकिने कार्यालयको जिकीर छ । वरपीपलको फल खाएर बाँदर अल्मलिने हुँदा किसानका अन्नबालीमा कम क्षति हुने कार्यालय प्रमुख विष्णुप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘पछिल्लो समय धेरै वर्ष पुराना वरपीपलका रुख मासिँदै गएका छन् । अधिकांश ठाउँमा वरपीपलका ठूटा मात्र देखिन्छन् । यसले वातावरणलाई प्रत्यक्ष रुपमा हानि पुगिरहेको छ । यसैले हामीले अहिले झापाबाट बिरुवा मगाएर यसलाई अभियानका रुपमा सञ्चालन गर्ने लक्ष्यका साथ विस्तार गरिरहेका छौँ ।’’

बाँदरले बस्तीमा आएर क्षति गर्न थालेपछि सामुदायिक वनमा फलफूलजन्य बिरुवा तथा स्कुस रोपणलाई ध्यान दिन कार्यालयले आग्रह गरेको छ । बाँदरका लागि खाने आहारा वन क्षेत्रमा नै उत्पादन गर्न सकिएमा गाउँबस्तीमा कम क्षति गर्ने कार्यालयको भनाइ छ । प्रमुख घिमिरेले भन्नुभयो,‘‘ हामीले नै बाँदरलाई बस्तीमा आउने अवस्था बनाएका छौँ । वन्यजन्तुलाई हाम्रा व्यवहारले पनि असर पारिरहेको छ । हामीले वन क्षेत्रमा पनि फलफूलका बिरुवालाई विस्तार गर्न जरुरी देखिएको छ । त्यसैले हामीले खुला क्षेत्रमा वरपीपल रोप्ने अभियान सञ्चालनमा ल्याएका हौँ ।’’

बढ्दै छन् जडीबुटी किसान

पछिल्लो समयमा जिल्लाका स्थानीयवासी जडीबुटीखेतीतर्फ आकर्षित भएका छन् । डिभिजन वन कार्यालयले किसानलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएसँगै यसतर्फ किसानको आकर्षण बढेको हो ।

कार्यालयले विभिन्न कार्यक्रममार्फत आर्थिक तथा प्राविधिक सहयोग गरेपछि किसानले जडीबुटीखेतीलाई व्यावसायिक रुपमा सञ्चालनमा ल्याएका हुन् । कार्यालयले यस वर्ष मात्र टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा, आमचोक गाउँपालिकालगायत ठाउँमा जडीबुटी विस्तार कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यालयले कृषकलाई आयआर्जनमा जोड्न तथा सतुवा, लोठ सल्ला, चिराइतोलगायत खेती विस्तार गर्न किसानलाई प्रोत्साहन गरिरहेको कार्यालयको भनाइ छ । यस वर्ष कार्यालयले गरेको कामको समीक्षा कार्यक्रममार्फत दिइएको जानकारीअनुसार थप दुई जडीबुटी नर्सरी विस्तार गरिएको छ । जिल्लामा ६ नर्सरीबाट एक लाख, ६४ हजार बिरुवा उत्पादन गरिएको कार्यालयको भनाइ छ ।

किसानलाई करीब पाँच हजार कागती, एभोकाडोलगायतक बिरुवा वितरण भएको कार्यालयले जनाएको छ । कार्यक्रमका सहभागीले वर्षेनी बिरुवा वितरण गरिए पनि त्यसको उपलब्धि आउन नसकेकाले त्यसतर्फ ध्यान दिनुपर्ने धारणा राखे । त्यस्तै किसानले उत्पादन गरेको जडीबुटीको बजारीकरणमा सरकारले भूमिका खेल्नुपर्ने व्यवसायीले बताएका छन् ।
कार्यालयले सतुवा, चिराइतो, टिमुरलगायत विभिन्न जडीबुटीको पकेट क्षेत्र निर्धारण गरेर काम गरिरहेको छ । त्यस्तै किसानलाई थप प्रोत्साहन गर्नका लागि लाहाखेती विस्तारको लागिसमेत काम भइरहेको कार्यालयले जनाएको छ । त्यस्तै जडीबुटीखेती विस्तार तथा वन क्षेत्रको विकासका लागि पञ्चवर्षीय योजना भइरहेकाले त्यसमा छुटेका विषयवस्तुको बारेमा रायसुझाब सङ्कलन लिइएको छ ।

सहभागीले जडीबुटीको उत्पादन राम्रो भए पनि भण्डारणको समस्या रहेकाले त्यसतर्फ ध्यान दिनु सुझाएका थिए । यस वर्ष कार्यालयले सञ्चालनमा ल्याएका कार्यक्रमबाट छिटपुटबाहेक अपेक्षित उपलब्धि हासिल भएको जिकीर गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology