• Thursday 30th of July 2026

खच्चड व्यवसायीको व्यथा : हिउँदमा कामविहीन, बर्खामा भ्याइनभ्याइ


  • गोकर्णेश्वर अनलाइन

एकदशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रका बजारमा ढुवानीको प्रमुख माध्यम बनेका खच्चड सडकको पहुँच पुगेर यातायातका साधन चल्न थालेपछि हिउँदमा कामविहीन बने पनि बर्खामा भने मालसामान ढुवानीको भरपर्दो साधन बन्ने गरेका छन् ।

वर्षाका कारण विभिन्न स्थानमा बाढी र पहिराले यातायातका साधन सञ्चालन हुन नसकेपछि अहिले खाद्यान्नलगायतका मालसामान ढुवानीका लागि खच्चड व्यस्त बनेका छन् भने खच्चड व्यवसायीलाई भ्याइनभ्याइ छ ।

ग्रामीण क्षेत्रमा मोटरबाटाले नजोडिँदा खच्चडमार्फत आयआर्जन गर्ने व्यवसायी हिउँदमा कामविहीन बन्छन् भने बर्खामा भ्याइनभ्याइ हुने गरेको बताउँछन् । जिल्लाका सबै गाउँ सडक सञ्जालले जोडिएपछि विगत छ वर्षयता घोडा तथा खच्चडको प्रयोगमा कमी हुँदै आएको मल्काबाङका खच्चड व्यवसायी टेकबहादुर विक बताउनुहुन्छ । घोडा खच्चडको प्रयोग घटेसँगै खच्चड व्यवसायी समस्यामा परेको उहाँको भनाइ छ ।

“बर्खामा भ्याइनभ्याइ भएर के गर्नु, हिउँदका दिन काम कहाँपाइ हुन्छ”, मालिका गाउँपालिका– ५ देविस्थानका खच्चड व्यवसायी तिलक फगामी भन्नुहुन्छ, “बर्खाका तीन महिना हो काम पाइने, हिउँद लागेपछि त सुख्खा हो ।” सडक सञ्जालसँग ग्रामीण क्षेत्र नजोडिएको समयमा गुर्जा, मुदी, मुना, लुलाङ, ताकम, देविस्थान, मल्काबाङ, तिमखोला, पाखापानी, ठाडाखानीलगायतका विकट गाउँमा देखिने खच्चड अहिले कम हुँदै गएका छन् ।

ग्रामीण क्षेत्रमा सडकको पहुँच नपुगुञ्जेलसम्म खच्चडबाहेक अरुमा सामान ढुवानी गर्ने विकल्प थिएन । जिल्लाका विभिन्न बजारमा पनि खच्चडले नै सामान ढुवानी गर्ने गर्थे । जब सडकले बजार र गाउँ जोडिए, त्यसपछि घोडा खच्चडको प्रयोग कम हुँदै गएको ठाडाखानीका खच्चड व्यवसायी छकबहादुर छन्त्यालले बताउनुभयो ।

खच्चड व्यवसायीले हिउँदको समयमा काम नपाए पनि वर्षाको समयमा भने काम पाउँछन् । वर्षात्को समयमा बाढी, पहिराका कारण सडक अवरुद्ध हुने हुँदा सामान ढुवानीका लागि भ्याइनभ्याइ हुने गरेको व्यवसायी बताउँछन् । गाडीको पहुुँच नहुँदा यात्रा गर्न, खाद्यान्न सामान, फेन्सी सामान तथा अन्य सामग्रीको ढुवानीका निम्ति घोडा तथा खच्चडको प्रयोग गर्ने गरेको मालिका गाउँपालिका– ३ रुमका एकवीर घर्तीले बताउनुभयो । उहाँले अहिले खच्चडको काम नहुँदा पाल्नसमेत गाह्रो हुन थालेको गुनासो गर्नुभयो ।

“पहिले त घोडा खच्चड हुने मान्छे निकै धनी मानिन्थे, अहिले तीभन्दा गरीब अरु छैनन् होला, घोडा खच्चडको कामै छैन अहिले, काम नभएपछि पाल्न पनि गाह्रो भएको छ”, उहाँले भन्नुभयो । सात वर्षअघिसम्म १८ खच्चड पालेर ढुवानीको काम गर्ने गरेका घर्तीले अहिले पाँच मात्र खच्चड पाल्नुभएको छ । उहाँले सडकले धेरै सजिलो भए पनि आफूहरुको गरी खाने माध्यम बन्द हुने अवस्थामा आएको दुखेसो गर्नुभयो ।

“गाउँगाउँमा मोटरबाटो आयो, धेरै सुविधा पनि भएको छ, दुःख बिमारी हुँदा सजिलै अस्पताल पुगिन्छ, तर हामी जस्ता खच्चड व्यवसायी त निकै ठूलो मारमा प-यौँ”, घर्तीले भन्नुभयो, “बाटो आए पनि दुई÷तीन वर्ष अगाडिसम्म त अलिअलि काम त हुन्थ्यो, अहिले त काम पाउनै गाह्रो छ, कहिलेकाहीँ पायो भने पनि पहिलाको जस्तो पैसा दिँदैनन् ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology