• Saturday 25th of July 2026

जलजला बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी


  • गोकर्णेश्वर अनलाइन

जिल्लाको जलजला बहुमुखी क्याम्पसमा अनिश्चितकालका लागि तालाबन्दी गरिएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक उक्त क्याम्पसमा अध्ययनरत विद्यार्थीले विभिन्न माग राखी अनिश्चितकालका लागि तालाबन्दी गरेका हुन् ।

“मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा मातहतका आङ्गिक क्याम्पस सुधारका विभिन्न माग राखी आन्दोलन सुरु गरेका हौं”, सो क्याम्पसको साझा विद्यार्थी मञ्चका संयोजक योगेन्द्रअनुपम जिसीले भन्नुभयो, “विश्वविद्यालय सुधारका लागि क्रियाशील विद्यार्थी सङ्गठनले राखेका ३६ बुँदे मागमा स्थानीय आठबुँदे मागसमेत समावेश गरी क्याम्पस अनिश्चितकालका लागि तालाबन्दी गरेका हौं ।”

“विषयगत उपप्रध्यापक तथा आवश्यक कर्मचारीको व्यवस्थापनलगायत केन्द्रसँग सम्बन्धित ३६ बुँदे तथा छात्रवृत्ति वितरण, कोरोनाको अवधिमा लिइएको शुल्क फिर्तालगायत आठबुँदे स्थानीय माग पेस गरिएको उहाँले बताउनुभयो । केन्द्र र स्थानीयस्तरका माग पूरा नभएसम्म आन्दोलन फिर्ता नहुने विद्यार्थीहरुको भनाइ छ ।

मध्यपश्चिम विश्वविद्यालयमा क्रियाशील विद्यार्थी सङ्गठनहरुले सुर्खेतमा गरेको आन्दोलन रोल्पालगायत अन्य आङ्गिक क्याम्पसहरुमा सरेको जलजला बहुमुखी क्याम्पसका प्रमुख खिमबहादुर खड्का बताउनुभयो । जलजला बहुमुखी क्याम्पससँग जोडिएका माग भए त्यसबारे छलफल गरिने तर स्थानीय मागबारे आफूसँग परामर्श नभएको उहाँको भनाइ थियो ।

लामो समय थला परेको शैक्षिक क्षेत्रमा बन्द हडतालभन्दा अन्य विकल्प खोजेर आन्दोलन गर्नुपर्ने अभिभावकहरुको भनाइ छ । कोरोनाले लथालिङ्ग शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरिनु राम्रो नभएको उहाँहरुको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology