• Monday 27th of July 2026

नेप्सेमा उछाल, बजार पूँजीकरण ४४ खर्ब १३ अर्ब


  • गोकर्णेश्वर अनलाइन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको नेप्सेमा उछाल देखिएको हो । विकास बैंक, वित्त, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको शेयरका लगानीकर्ताको तीव्र आकर्षण देखिँदा नेप्सेसमेत नयाँ उचाइमा पुगेको हो ।

नेपाल स्टक एक्सेचञ्जका अनुसार आज ५१.८६ बिन्दुले बढेर तीन हजार १६१.४४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १२ बिन्दुले बढेर ५८७.९५ मा पुगेको कूल २२५ कम्पनीको तीन करोड ३५ लाख ३५ हजार २१३ कित्ता शेयर रु १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २७९ मूल्यमा खरिद बिक्री भयो । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब १३ अर्ब १८ करोड तीन लाख २० हजार बराबर पुगेको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने १० उपसमूहको शेयर उकालो लागेको छ । व्यापार ६७.२८, होटल तथा पर्यटन ८.७८ र जलविद्युत् ३.०१ बिन्दुले घटेको छ । बैंकिङ ३९.०४, विकास बैंक ४०६.४४, वित्त १९०.६४, निर्जीवन बीमा १४२.३३, उत्पादन ४४.५४, अन्य ६.८३, लघुवित्त ७३.४४, जीवन बीमा २११ं७२, सामूहिक लगानीकोष ०.०७ र लगानी २.१५ अङ्कले बढेको छ ।

कारोबारका आधारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ८९ करोड ५८ लाख ९३ हजार ५३६ बराबरको कारोबार भयो । अरुण भ्याली हाइड्रोपावर कम्पनी रु ५३ करोड सात लाख ७८ हजार ५४५, अपि पावर कम्पनी रु ५१ करोड ९२ लाख ६८ हजार ६१७, ज्योति विकास बैंक रु ४८ करोड ८४ लाख ३८ हजार ४१७ र अरुण काबेली पावर रु ४१ करोड ५२ लाख ८५ हजार ५७७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

१३ कम्पनीको शेयरमा सर्किट

नेप्सेका अनुसार आजको कारोबारमा विभिन्न १३ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । बेस्ट फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, गुह्यश्वरी मर्चेन्ट बैंक, आइसिएफसी फाइनान्स, प्रोगेसिभ फाइनान्स, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, सिन्धु विकास बैंक, जीवन विकास लघुवित्त, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र युनियन लाइफ इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

यस्तै, साञ्जेन जलविद्युत् कम्पनी ५.१६, सिनर्जी पावर ४.७१, खानीखोला हाइड्रोपावर ४.२५, पञ्चकन्या माई ४.११ र घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले ४.०२ प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology