• Thursday 30th of July 2026

मेलम्ची प्रभावित भएकाले खानेपानी व्यवस्थापनको माग


  • गोकर्णेश्वर अनलाइन

प्रतिनिधिसभाको आजको बैठकमा मेलम्ची खानेपानी आयोजनालाई बाढी पहिराले प्रभावित बनाएकाले काठमाडौँ उपत्यकाको खानेपानीका लागि उचित व्यवस्थापन गर्नुपर्नेलगायत जनजीवनका विषयमा सरकारसँग माग गरिएको छ ।

बैठकको शून्य समयमा नेकपा (एमाले)का सांसद जीवनराम श्रेष्ठले काठमाडौँ उपत्यकाको खानेपानीको उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । गत असार १ गतेको बाढी पहिराका कारण मेलम्ची खानेपानी आयोजनस्थलमा क्षति पुगेको छ ।

नेपाली कांग्रेसका उमा रेग्मीले असारे विकासले बजेट दुरुपयोग भएकाले यसमा संलग्नलाई कारबाही गर्न माग गर्नुभयो । नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदीले कोरोना कहरबाट प्रभावित बालबालिकालाई उपचार गर्न माग गर्नुभयो भने सांसद अतहर कमाल मुसलमानले सुकुम्बासी समस्या आयोग विघटन गरिएकामा आपत्ति प्रकट गर्नुभयो । सांसद आशाकुमारी विकले जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्न आग्रह गर्नुभयो । सांसद इन्दुकुमारी शर्माले जनकपुर–जलेश्वर सडक दशकौँदेखि जीर्ण भएकाले मर्मत गर्न आग्रह गर्नुभयो ।

सांसद कल्याणीकुमारी खड्काले रौतहटमा चिनी उद्योगले मजदुरको बाँकी रकम चाँडो दिन आग्रह गर्नुभयो । सांसद खगराज अधिकारीले अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल स्वदेश फिर्ता ल्याउन आग्रह गर्दै अन्यथा सदन चल्न नदिइने बताउनुभयो ।

सांसद् कुमारी मेचे, कृष्णबहादुर राई, कृष्णभक्त पोखरेल, केदार सिग्देल, खेमप्रसाद लोहनी, गजेन्द्रबहादुर महत, गणेशकुमार पहाडी, गणेशसिंह ठगुन्ना, गोपालबहादुर बम, गोमा देवकोटा, गङ्गा चौधरी, घनश्याम खतिवडा, चाँदतारा कुमारी, जिपछिरिङ लामा, जुलीकुमारी महतो, झपटबहादुर रावललगायतले सो समयमा समसामयिक विषयमा भाग लिनुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology