• Monday 27th of July 2026

नेप्सेमा झिनो सुधार, १५ कम्पनीको शेयरमा सर्किट


  • गोकर्णेश्वर अनलाइन

विकास बैंक, जलविद्युत् र वित्त क्षेत्रका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढे पनि ती उपसमूहअन्तर्गत कम्पनीको शेयर मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको तेस्रो दिन मङ्गलबार नेप्से ०.२३ बिन्दुले बढेर तीन हजार १६०.३१ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३५ बिन्दुले बढेर ५९३.२८ मा पुगेको छ । कूल २२१ कम्पनीको तीन करोड छ लाख १३ हजार ४३९ कित्ता शेयर रु १८ अर्ब २० करोड ४९ लाख ३९ हजार २३७ मूल्यमा खरिद बिक्री भए ।

मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब १४ अर्ब ४३ करोड ७० लाख ९० हजार बराबर पुगेको छ । यो हालसम्मकै उच्च बजार पूँजीकरण हो । कारोबार भएका १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ २३.१८, व्यापार ५९.५, होटल तथा पर्यटन ३८.०६, निर्जीवन बीमा १३२.५९, अन्य ३५.३६, जीवन बीमा २५१.७८ र सामूहिक लगानी कोष ०.१५ बिन्दुले घटेको छ । यस्तै, विकास बैंक २९२.७३, जलविद्युत् ११६.९३, वित्त १४१.७७, उत्पादन ८९.७१, लघुवित्त ५.४९ र लगानी ०.०७ बिन्दुले बढेको छ ।

कारोबारका अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ८६ करोड ३८ लाख २४ हजार ७१७ बराबरको कारोबार भयो । एचआइडिसिएल रु ६२ करोड ४० लाख ७५ हजार ७९५, अरुण काबेली पावर रु ६० करोड ३४ लाख ३१ हजार ९९९, रिडी हाइड्रोपावर रु ५५ करोड १९ लाख १५ हजार ७०१ र अरुण भ्याली हाइड्रोपावर रु ४३ करोड ७० लाख ४६ हजार २२३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

१५ कम्पनीको शेयरमा सकारात्मक सर्किट

नेप्सेका अनुसार कूल १५ कम्पनीको शेयरमा सकारात्मक सर्कीट लागेको छ । त्यसमा गुर्खाज फाइनान्स, फस्ट माइक्रोफाइनान्स, दिव्यश्वरु हाइड्रोपावर, अरुण काबेली पावर, आँखु खोला जलविद्युत् कम्पनी, जोशी हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, माउण्टेन इनर्जी नेपाल, रुरु जलविद्युत् परियोजना, सिइडिबी हाइड्रोपावर, जीवन विकास लघुवित्त, रिडी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, नेशनल हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यसैगरी, एनआइबिएल प्रगति फण्ड ३.८६, नबिल डिवेञ्चर, ३.८०, सिद्धार्थ इक्विटी फण्ड ३.२४, माछापुच्छ्रे बैंक २.७५ र प्राइम लाइफ इन्स्योरेन्सका लगानीकर्ताले २.५८ प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology