• Thursday 30th of July 2026

तीज पर्वलाई घरमै सीमित बनाइने


  • गोकर्णेश्वर अनलाइन

बागलुङमा लामो समयदेखि जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलो बनाइए पनि आउँदै गरेका चाडपर्व मनाउन भने कडाइ नै गरिएको छ । जिल्ला प्रशासन कार्यालयले तीज कार्यक्रम नगर्न अनुरोध गर्दै तीजलाई घरमै सीमित राख्न आग्रह गरेको छ ।

गत वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गरिएको भए पनि गतसाउन २८ गते अघि निषेधाज्ञामामा केही खुकुलो गरिएको थियो । निषेधाज्ञा खुकुलो भएपछि कोरोना भाइरस सङ्क्रमणको सक्रिय दर बढेर ७४० पुगेपछि गत साउन २८ गतेयता अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको थियो । कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिएमसी)को जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको बैठकले बजार र सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो ।

केही दिनयता कोरोना सङ्क्रमण दरमा विस्तारै कमी आएकाले आजदेखि बजार, पसल, उद्योग व्यवसाय, सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनका लागि खुला गरिएको प्रमुख जिल्ला अधिकारी तथा कोभिड सङ्कट व्यवस्थापन केन्द्रका संयोजक शिवकुमार कार्कीले जानकारी दिनुभयो । “विस्तारै कोरोना घटेपछि पुनः निषेधाज्ञामा खुकुलो बनाइएको हो”, प्रजिअ कार्कीले भन्नुभयो, “स्वास्थ्य सचेतना अपनाउँदै जनजीवन सहज बनाउँदै लैजाने सरोकारवालाको नीति छ, व्यवसायीको मारलाई समेत मध्यनजर गर्दै खुकुलो बनाएको हो ।”

बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म स्वास्थ्य मापदण्ड अपनाएर पसल तथा व्यवसाय सञ्चालन गर्ने, वित्तीय संस्था, बैंक, सहकारी संस्था, मनिट्रान्सफर खुला रहनेछन् । सहकारीले भने घरदैलो बचत सङ्कलन गर्न नपाइने, तीज कार्यक्रम गर्न नपाइने, मेला महोत्सव तथा धार्मिकस्थल खुला राख्न नपाइने भएको छ । धार्मिकस्थलमा भने नित्य कर्म मात्रै गर्न पाइनेछ ।

यस्तै आवसीय होटल, रेष्टुराँ र खाजाघर सञ्चालन गर्न पाइने भए पनि पार्टी प्यालेस, जिमघरलगायत तालिम तथा सेमिनार गर्न पाइने छैन । बिहीबारसम्म जिल्लामा ३४८ सक्रिय सङ्क्रमित छन् । कोरोना भाइरस सङ्क्रमणबाट जिल्लामा हालसम्म ६५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology