• Thursday 30th of July 2026

कृत्रिम अभाव सिर्जना गरी अत्यावश्यक वस्तुको मूल्यवृद्धि


  • गोकर्णेश्वर अनलाइन

लकडाउन लम्बिँदै जाँदा नेपालगञ्जमा व्यापारीले अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी मनपरि मूल्य लिने गरेको पाइएको छ । न्यूरोड, त्रिभुवनचोक, सुर्खेतरोड, अस्पताल क्षेत्र, गणेशमान चोकमा रहेका विशेषतः खाद्य वस्तुका पसलले सामानको कृत्रिम अभाव देखाएर बढी मूल्य लिने गरेको उपभोक्ताहरु बताउँछन् । बढी मूल्य लिएको गुनासो गर्ने उपभोक्तालाई सामान नदिएर खाली हात फर्काउने गरेको नेपालगञ्ज–१३ लक्ष्मण केसीले बताउनुभयो । उहाँका अनुसार लकडाउनअघिसम्म डेरीबाट रु एक हजार लिटरमा पाउँदै आएको घ्यूलाई प्रतिलिटर अहिले रु एक हजार ६० मा बिक्री गर्ने गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकिारी शिवराम गेलालले उपभोक्ताका गुनासा आफूले पनि सुन्ने गरेको जनाउँदै कृत्रिम अभाव सिर्जना गरी मनपरि मूल्य लिने पसलको अनुगमन गरी कारबाहीका दायरामा ल्याउने बताउनुभयो । लकडाउन अघि बजार अनुगमन गर्दै आएको नेपालगञ्ज उपमहानगरपालिका, वणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको भूमिका प्रभावकारी नभएपछि व्यापारीले कृत्रिम अभाव र मनपरि मूल्य लिने गरेका उपभोक्ताको गुनसो गर्दछन् ।

यी दुवै निकायका पदाधिकारीले बजार अनुगमन गरिरहेको जनाएका छन् । उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख कृष्णप्रसाद पौडेल र उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले अनुगमन गरिरहेको जानकारी दिनुभयो ।

निमित्त प्रमुख पौडेलको सुझाव छ, “उपभोक्ताले व्यापारीसँग आफूले खरिद गरेको वस्तुको बील माग गरेको खण्डमा त्यसका आधारमा कारवाही गर्न सहज हुनेछ ।” जिल्लामा पछिल्लो समय बजारलाई खुकुलो पार्दै निषेधाज्ञा कायमै राखिएको छ । जिप्रकाले स्वास्थ्य मापदण्डको पालना गरी पसल खोल्न दिने निर्णय गरेको छ । जिल्ला अहिले कोरोना महामारीको ‘एलो जोन’ मा परेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology