• Wednesday 29th of July 2026

प्रतिव्यक्ति प्रतिवर्ष ७५ लिटर मात्र दूध सेवन


  • गोकर्णेश्वर अनलाइन

नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ९२ लिटर दूध सेवन गर्नुपर्नेमा नेपालमा हाल ७५ लिटर मात्र सेवन हुने गरेको तथ्याङ्कले देखाएको छ । अब आगामी दिनमा कम्तीमा बालबालिकाका लागि मात्र भए पनि प्रतिवर्ष ९२ लिटर पु-याउनुपर्ने अनिवार्यता देखिएकाले सरोकारवाला यसमा लाग्नुपर्ने नेपाल डेरी एशोसिएशनले निष्कर्ष निकालेको हो ।

विश्वमा कुनै पनि बालबालिकाले दूध तथा दुग्ध पदार्थ सेवनबाट बञ्चित हुन नपरोस् भनेर स्कुल दूध दिवस सेप्टेम्बर महिनाको अन्तिम बुधबारका दिन विगत २१ वर्षदेखि विश्वभर सन् २००० देखि भव्यताका साथ मनाउने गरिन्छ । नेपालमा विसं २०७३ देखि नेपाल डेरी एशोसिएशनले पहिलोपटक सुरु गरेको थियो । विसं २०७८ मा छैटौँ विश्व स्कुल दूध दिवसका अवसरमा यस वर्ष एशोसिएशनका सबै प्रदेश, जिल्ला, पालिकालगायत ठाउँमा विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिएको एशोसिएशनका केन्द्रीय महासचिव प्रल्हाद दाहालले जानकारी दिनुभयो ।

यता बागमती प्रदेशमा भने राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवको प्रमुख आतिथ्यतामा काठमाडौँका विभिन्न विद्यालयमा बालबालिकालाई दूध सेवन गराई सरोकारवाला निकायको सहयोग र सहभागितामा मनाइने कार्यक्रम तय गरिएको एशोसिएशनले जनाएको छ ।

दूधलाई पूर्ण भोजनका रूपमा लिइन्छ । मानिसको जन्मने बेलाको प्रथम आहार दूध नै हो । जन्मेको छ महिनासम्म बच्चालाई दूध मात्र दिइन्छ र दूध मानिसको जीवनको महत्वपूर्ण कुरा हो । जन्मेको दिनदेखि मर्ने बेलासम्म र मरिसकेपछि पनि हाम्रो संस्कारका लागिसमेत दूधको आवश्यकता पर्दछ । विश्व इतिहास हेर्दा पनि जो जति विश्व प्रख्यात भए ती अधिकांश व्यक्ति शाकाहारी विशेषगरी दूध सेवनलाई महत्व दिने कुराको पुष्टि भइसकेको छ ।

गौतमबुद्धदेखि महात्मा गान्धि र वर्तमान भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसम्म सबैले दूधलाई प्राथमिकताका साथ लिइने गरेको पाइन्छ । यस अर्थमा पनि के पुष्टि हुन्छ भने दूध सेवन गर्दा मानिसको दिमागमा सकारात्मक सोचको विकास हुने र दिमाग तेजिलो हुने कुरा वैज्ञानिकले पुष्टि गरिसकेका छन् । जापान, कोरिया र चीनजस्ता विकसित देशमा बालबालिकालाई दूध सेवन अनिवार्य गरिएको छ ।

बालबालिकालाई दूधको महत्वबारे बताउँदै अनिवार्य दूध सेवन गर्न प्रेरित गर्नुपर्छ । दूधबारे अभिभावकले र शिक्षक शिक्षिकाले पनि राम्रोसँग बुझेर सबै बालबालिकालाई दूध तथा दुग्ध पदार्थ सेवन गराउनुपर्ने छ । विद्यार्थीलाई दैनिकरूपमा दूध र दुग्ध पदार्थ सेवन गर्दा हुने फाइदाको बारेमा पनि शिक्षक शिक्षिकाको भूमिका महत्वपूर्ण हुनेछ । साथै विद्यालयले पनि दूध सेवनमा प्राथमिकता दिन अभिभावकलाई दूधको जानकारीसहित आग्रह गर्नुपर्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology