• Wednesday 29th of July 2026

अवसर गाउँमा : युवा सहरमा


  • गोकर्णेश्वर अनलाइन

गलेश्वर, ३ कात्तिक (रासस) : धेरै समयपछि, सोमबार बिहान म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँट गाउँमा एकजना गन्धर्व दाइ भेटिए । सारङ्गीको -याइँ-याइँसँगै मीठो स्वरमा विदेशिएका युवालाई स्वदेश फर्कन र गाउँमा रहेका युवालाई विदेश नजान आग्रहसहित गाउँमा रहेका अवसरको बेलीविस्तार लगाउँदै गीत गाउँदा छोराछोरी र बुहारी विदेशिएका घरका बुबाआमाको आँखा रसाए ।

“घरको सङ्घार नाघेर जान्छौं, गाउँको सह सँगसँगै लैजान्छौं”, यसरी गीत सुरु गरेका गुल्मी रुरुका मानबहादुर गन्धर्वले “नजाउ युवा विदेश र सहर, गर्नसके गाउँमै छ अवसर”, गाउँदै गीत टुङ्ग्याए ।

गीतमा सुनिएका मानबहादुर गन्धर्वका शब्दमा नेपाली ग्रामीण परिवेशको यथार्थ बयान भेटिन्छ । फाँटैभरि लहलहै झुलेका धान । गोठैभरि गाईबस्तु । खोरमा बाख्रा र कुखुरा । करेसाबारीमा तरकारी । बारीमा कोदो । चारैतिर हरियाली । वरिपरी साह्रोगाह्रो पर्दा सघाउने आफन्त र इष्टमित्र । यो शारदीय मौसममा देखिने गाउँको चित्र हो ।

एक÷डेढदशक अघिसम्म ‘गाउँमा अभाव छ,अवसरै छैन’ भन्ने मानसिकता व्यापक थियो । तर, अहिले समय फेरियो । देशमा सङ्घीय व्यवस्था लागू भएपछि दुर्गम गाउँको मुहार पनि उजेलिएको छ । गाउँ–गाउँ, बस्ती–बस्तीमा सिहंदरबार पुगेको अनुभूति गरिएको छ । गाउँका बस्ती बस्तीमा मोटरबाटो पुगेको छ । बजारको सामान गाडी चढाएर घरको आँगनमै झार्न सकिन्छ । गाउँमा उत्पादन गरिएको वस्तु मान्छेले नबोकिकनै बजारका पसल पसलमा पु¥याउन सकिन्छ ।

अहिले गाउँमा सुन्दर प्रकृति, आवश्यक विकास र थुप्रै अवसर छन् । छैनन् त केवल प्रकृति, विकास र अवसरलाई सदुपयोग गर्ने युवा । “युवा नहुँदा गाउँ, गाउँघर जस्तो लाग्दैन । गाउँले, गाउँले जस्ता देखिदैनन्”, आफ्ना २६ वर्षीय छोरालाई विदेश जानबाट रोकेर गाउँमै कृषिकर्ममा लगाउनुभएका बगरफाँटका दुर्गाबहादुर थापाले भन्नुभयो, “मुलुकमा आएको ठूलो परिर्वतनसँगै गाउँलेका रहर र सपनामा पनि परिवर्तन आएको छ ।”

केटाकेटी १० पास गरेपछि सहर पस्छन् । १२ पास गरे परदेशी बन्छन् । विदेश जान गाउँमा होड चल्छ । गाउँमा रहेका अवसरप्रति त कसैको आँखै लाग्दैन । म्याग्दीमा केही समययता विदेशबाट फर्केर गाउँमै उद्यम गर्ने युवाको सङ्ख्या बढ्दै गए पनि विदेश नै नगइ गाउँमा नै अवसरहरुको खोजी गर्ने युवाहरु भने नगण्य मात्रामा रहेका छन् ।

“बालबालिकादेखि ४५ वर्षसम्मकालेसमेत विदेशकै चाहना राखेको हुन्छ”, बुद्ध एकेडेमीका शिक्षक प्रेम शाहीले भन्नुभयो,“कक्षामा बालबालिकालाई भविष्यमा तिमी के बन्ने चाहना राखेका छौ भनेर सोध्ने हो भने धेरैको मुखबाट ‘लाहुरे’ शब्द फुत्त निस्कन्छ ।” युवा आफ्नो रहरले भन्दा पनि घरका अभिभावकको कहरले गर्दा विदेशिन बाध्य भएका हुन् भन्ने भनाइ छ बेनीका दण्डपाणि शर्माको । उहाँ भन्नुहुन्छ, “फलानोको छोरो विदेश गएर यो ग¥यो, त्यो ग¥यो, तँ गाउँमै हल्लिएको छस्, खाएको छस्, बुढा बाबु वल्लो घर छोरालाई गाली गर्दै कराएको पल्लो घर सुनिन्छ, वातावरण नै यस्तो भइदिएपछि एक्लै युवाले मात्रै के के पो गरोस् ।”

युवामा सकेसम्म युरोप, अमेरिकामा ‘सेटल’ हुन नसके खाडी मुलुकमै गएर भए पनि केही कमाएर फर्कने भन्ने मानसिकताले गर्दा गाउँमा रहेका रोजगार र आयआर्जनका अवसर र सम्भावना ओझेलमा परेका यहाँका जानकारको भनाइ रहेको छ । रोजगारीका लागि विदेश पसेका युवाबाट म्याग्दीमा वार्षिक तीन अर्बको हाराहारीमा रेमिट्यान्स भित्रिने गरेको गरिमा विकास बैंक बेनीका प्रमुख कमल ढुङ्गाना बताउनुहुन्छ ।

रेमिट्यान्सले पैसा त आयो तर पैसासँगै गाउँमा खुसी भने आउन सकेको छैन । छोराछोरीले विदेशमा कमाएको पैसाबाट किनिएका सहरका घर र घडेरीमा गाउँका वृद्धवृद्धा बसाइँ सर्न मानेका छैनन् । गाउँको चिसो पानी, उर्वर माटो र त्यही माटोमा लडिबुडी खेलेर हुर्केको जवानी त्यति सजिलै विर्सन उनीहरु तयार छैनन् । उनीहरुमा गाउँप्रतिको अगाध प्रेम अझै छ ।

कोरोना महामारीका कारण नेपालको मात्रै होइन विश्वकै अर्थतन्त्र डामाडोल छ । विदेशमा रोजगार गुमाएका युवा गाउँमा फर्किएका छन् । उनीहरुमा पुनः विदेश फर्केर काम गर्ने रहर छैन ।

वैदेशिक रोजगारीबाट युवा घर फर्केपछि रेमिट्यान्सका भरमा सहरमा बसेका परिवार गाउँ पसेका छन् । गाउँ विस्तारै रमाइलो बन्दै जान थालेको छ । म्याग्दीमा ग्रामीण र कृषि पर्यटनको सम्भावना पनि उत्तीकै बढेको छ । विदेशमा काम गरेर फर्केका कामदारमा कुनै न कुनै सीप हुन्छ । सोही सीप प्रयोग गरेर गाउँमै आयआर्जनसँग युवा जोडिन थालेका मालिका गाउँपालिकाका प्रमुख श्रीप्रसाद रोका बताउनुहुन्छ ।

अहिलेको अवस्थालाई अभाव होइन अवसरको रुपमा लिई युवाकोे सपनालाई साकार पार्न स्थानीय सरकार लागिपरेको अध्यक्ष रोकाले बताउनुभयो । गाउँमा पैदलमार्ग, परम्परागत एवं ऐतिहासिकस्थल, ताल, खोला, झरना आदिलाई पर्यटन केन्द्र बनाउन सकिने उहाँको भनाइ रहेको छ । स्थानीय परिकार र संस्कृतिको स्वादमा होम स्टे सञ्चालन गर्ने गाउँपालिकाको योजना रहेको उहाँ सुनाउनुहुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology