• Tuesday 28th of July 2026

म्याग्दीका पाटीपौवा र ढुङ्गेधारा लोप हुँदै


  • गोकर्णेश्वर अनलाइन

गलेश्वर, २१ कात्तिक (रासस) : गाउँका विकट बस्तीमासमेत सडक पुगेपछि म्याग्दीका विभिन्न ठाउँमा बटुवाका लागि बनाइएका पाटीपौवा र धर्मशाला लोप हुँदै गएका छन् ।
सडक सुविधाको पहुँच, आधुनिक जीवनशैली, बसाइँसराइलगायत कारणले ग्रामीण जीवनको अभिन्न अङ्गका रुपमा रहेका प्राचीन तथा ऐतिहासिक ग्रामीण सम्पदा लोप हुन थालेका हुन् । बढ्दो शहरीकरण र संरक्षणको अभावमा सांस्कृतिक र ऐतिहासिक महत्वका पाटी, पौवा, धर्मशाला, पँधेरा र ढुङ्गेधारा दिनप्रतिदिन हराउँदै जान थालेको स्थानीयवासीले बताएका छन् ।

बढ्दो जनसङ्ख्या र अव्यवस्थित बस्ती विकासका कारण परम्परागत प्रविधि र कलात्मक शैलीमा निर्माण गरिएका यस्ता सम्पदा भत्काइनाका साथै संरक्षण र जीर्णोद्धारको अभावमा पुरिएकाले अहिले गाउँघरमा यी सम्पदा लोप हुँदै गएको बेनी नगरपालिका–४ सुर्केमेलाका शशिधर सापकोटाले बताउनुभयो ।

विगतमा सडक सञ्जाल र होटल रेस्टुरेन्टको सुविधा नभएकाले बटुवा तथा तीर्थयात्रीलगायतको सुविधाका लागि विभिन्न ठाउँमा निर्माण गरिएका यस्ता सम्पदा संरक्षणको अभावमा सङ्कटमा परेको उहाँको भनाइ थियो । धर्मशाला, पाटीपौवा, चौतारी निर्माण गर्ने र तिर्खाएका बटुवालाई पिउनका पानी राखिदिने परम्परा अहिले हराएको छ ।

एक दशकअघिसम्म ग्रामीण क्षेत्रमा धर्मशाला, पाटीपौवाको प्रयोगमा आउँथ्योे तर अहिले त्यस्ता सम्पदा जीर्ण बनेका छन् ।स्थानीय सरकार र सरोकार निकायको समेत यसप्रति ध्यान नपुगेको स्थानीयवासीको गुनासो छ । पाटीपौवा धर्मशाला बास बस्नका लागि तथा थकाइ मार्न र भारी बिसाउनका लागि चौतारी निर्माण गरिन्थ्यो भने प्यास मेटाउनका लागि धर्मशालामा माटोको घैँटो राखेर चिसो पिउने पानी राखिदिने चलन थियो तर अहिले यो चलन हराएकामा बुढापाका चिन्तित छन् ।

बाटोको छेउछाउमा पाटीपौवा र धर्मशाला निर्माण गरेर बाटो हिँड्ने बटुवाका लागि पिउने पानी राखिदिँदा पुण्य आर्जन हुने ज्यामरुककोटका बेदप्रसाद उपाध्यायले बताउनुभयो । बटुवा दिनभर हिँड्दा थकित हुने र बास बस्नका लागि बस्ती नभेट्टाउने हुँदा रात बिताउन र तिर्खा मेटाउनका लागि धर्मशाला निर्माण गर्ने गरिएको उहाँले सुनाउनुभयो । पहिलेपहिले अहिलेको जस्तो होटलको व्यवस्था र सडकको सहज पहुँच नभएकाले बटुवालाई बास बस्नका लागि धर्मशाला बनाइने गरिन्थ्यो ।

“पहिले त अहिलेको जस्तो होटल थिएनन्, सडकको सुविधा पुगेको थिएन, गाडी चल्दैनथे, अहिले जताततै गाडी गुड्छन्, एक ठाउँबाट अर्को ठाउँमा पुग्न दिनभर हिँड्नुपथ्र्यो, हिँड्दाहिँड्दै साँझमा कुनै बस्ती नभएको ठाउँमा पुगियो भने धर्मशालामा बस्ने गरिन्थ्यो”, स्थानीयवासी उपाध्यायले भन्नुभयो, “रातभर त्यही धर्मशालामा बसेर अर्को दिन आफ्नो गन्तव्यतर्फ लागिन्थ्यो, अहिले त सरर्र गाडी चढ्यो, एक÷दुई दिन लाग्ने ठाउँमा पनि एकैछिनमा पुग्न सकिन्छ ।”

ग्रामीण क्षेत्रमा सडक विस्तारले व्यापकता पाएसँगै म्याग्दीमा यस्ता मौलिक सम्पदा र परम्परा अत्यन्तै कम देख्न पाइन्छ । ग्रामीण क्षेत्रमा इतिहासको साक्षी बनेर रहेका ऐतिहासिक पाटीपौवा, धर्मशाला भत्किएका छन् भने केहीका अवशेषसमेत बाँकी छैनन् । ग्रामीण क्षेत्रका सौन्दर्य र आवश्यकतासँग जोडिएका यस्ता सम्पदाको संरक्षणमा स्थानीय पालिकाले चासो देखाउन जरुरी भएकामा स्थानीयवासीले जोड दिए । यात्रुको सुविधाका लागि बनाइएका पाटीपौवा र धर्मशाला पछिल्लो समय सडकका कारण हराउँदै गएको धवलागिरि गाउँपालिका–७ का गोपाल आचार्यले बताउनुभयो । जिल्लाका विभिन्न ठाउँमा रहेका दर्जनौँ पाटीपौवा र धर्मशालाको अस्तित्व संरक्षण र उपभोग अभावमा सङ्कटमा परेको उहाँको भनाइ थियो ।

यता बेनी नगरपालिका–६ ले भने यस्ता ऐतिहासिक सम्पदाको संरक्षणमा जोड दिँदै आएको छ । वडाध्यक्ष कृष्णबहादुर बानियाँले पुराना ऐतिहासिक सम्पदाको संरक्षणमा आफूहरू निरन्तर लागिपरेको र पालिकाले पनि यसको संरक्षणका लागि बजेट विनियोजन गरिरहेको बताउनुभयो ।

आफ्नो वडामा पनि मौलिक सम्पदा लोप हुँदै गएकाले तिनकोे संरक्षणका लागि वडा कार्यालय र युवालाई जागरुक बनाइएको उहाँको भनाइ थियो ।

स्थानीय सरकारले उच्च स्थानमा अनावश्यकरूपमा कङ्क्रिटका भ्यूटावर निर्माण गर्छन् तर यस्ता ऐतिहासिक सम्पदाको संरक्षणमा ध्यान दिँदैनन् । लाखौँ रुपैयाँ खर्चेर भ्यूटावर निर्माण गर्नुभन्दा यस्ता पुराना ऐतिहासिक सम्पदाको संरक्षण गर्न आवश्यक रहेको सरोकार राख्ने व्यक्तिले बताए ।ग्रामीण क्षेत्रमा सडकको पहुँच पुगेसँगै कङ्क्रिटका पक्की घर निर्माण हुनेक्रम बढ्दै गएको छ । घरभित्रै बाथरुम (स्नान कक्ष), शौचालय र भान्छामा नै पानीको धारा भएपछि गाग्री बोकेर पँधेरामा पानी लिन जाने झन्झटबाट गृहिणीले मुक्ति पाए पनि ग्रामीण सौन्दर्यका चिनारी पँधेरा र ढुङ्गेधारा लोप हुँदै गएपछि गाउँको सौन्दर्य पनि नासिएको छ ।

पछिल्लो समय प्रविधिमा आएको परिवर्तनसँगै पँधेरा र ढुङ्गेधाराको उपयोगमा पनि कमी आएको र अव्यवस्थितरुपमा खनिएका मोटरबाटो तथा पाइपमार्फत घरघरमा पानी पु¥याउने होडबाजीमा कतिपय जलसम्पदा पुरिएका छन् ।ग्रामीण भेगमा रहेका कैयौँ पँधेरा र ढुङ्गेधारा लोप भइसकेका र भावी पुस्ताले यस्ता परम्परागत मौलिक सम्पदा देख्न नपाउने हुँदा भएका सम्पदाको संरक्षण गर्न स्थानीय तहले नै सक्रियता देखाउनुपर्ने उनीहरुको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology