• Tuesday 28th of July 2026

कालीकोट सदरमुकाममा जडान गरिएका सिसिटिभी क्यामरा बिग्रिए


  • गोकर्णेश्वर अनलाइन

कालीकोटको सदरमुकाम मान्म बजारमा जडान गरिएका अधिकांश सिसिटिभी क्यामरा बिग्रिएका छन् । सदरमुकामको मान्म बजार जिरो प्वाइन्ट, प्रतिमाचोक, बीच बजार, पुरानो बसपार्कलगायतका २८ ठाउँमा सिसिटिभी क्यामरा जडान गरिएका थिए ।

स्थानीय सरकार, वित्तीय संस्था, उद्योगी तथा व्यापारीको सहयोगमा जडान गरिएको २८ वटा सिसिटिभी क्यामरामध्ये हाल तीन वटा मात्र सञ्चालनमा रहेका छन् । मान्म बजारका सार्वजनिक स्थानमा राखिएका सिसिटिभी क्यामरामध्ये अधिकांशले काम गर्न छाडेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख चक्रबहादुर शाहले बताउनुभयो ।

‘२८ वटा सिसिटिभी क्यामरामध्ये तीन वटाले मात्र काम गर्छन् ।’ उहाँले भन्नुभयो, “धुवाँ, धुलो, पानी, चट्याङका कारणले क्यामरा बिग्रिएका हुनसक्छन् ।” सिसिटिभी क्यामरा बिग्रिँदा बजार क्षेत्रमा हुने आपराधिक घटना, चोरी, सवारी दुर्घटनालगायतका घटनाको अनुसन्धानमा समेत समस्या आएको प्रहरी प्रमुख शाहले बताउनुभयो ।

“जडान गरिएका सिसिटिभी क्यामराबाट विगतमा अपराध अनुसन्धान सजिलो भएको थियो”, उहाँले भन्नुभयो, “विगतमा सिसिटिभी क्यामरामार्फत आपाराधिक घटनामा संग्लनलाई पक्राउ गर्न र घटनाको अनुसन्धान गर्न सजिलो भएको थियो ।”

सिसिटिभी क्यामरा बिग्रिएको जानकारी आफूले पाएको र बिग्रिएका सिसिटिभी क्यामरा पुनः सञ्चालनका लागि प्राविधिक टोली खटाइने खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले बताउनुभयो । “प्राविधिक टोली खटाएर सिसिटिभी क्यामरा मर्मत तथा नयाँ राख्ने काम हुनेछ”, उहाँले भन्नुभयो ।

सिसिटिभी क्यामरा जडानका लागि कर्णाली प्रदेश सरकारको रु २० लाख, खाँडाचक्र नगरपालिकाको रु १० लाख र वित्तीय संस्था तथा अन्य सङ्घ संस्थाको रु १० लाख खर्च भएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology