• Tuesday 28th of July 2026

वाग्मती सफाइ महाअभियान : १० मेट्रिक टन फोहर व्यवस्थापन


  • गोकर्णेश्वर अनलाइन

वाग्मती सफाइ महाअभियानको ४४७ औँ हप्तामा सिनामङ्गल पुलमुनिको नदी क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

सफाइबाट उठाइएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको छ । महानगरपालिकाले फोहर गाडीमा राखेका आधारमा परिमाण सार्वजनिक गर्ने गरिएको महाअभियानले जनाएको छ । सफाइमा अभियानकर्मी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी, स्थानीयवासी, महानगरपालिका वातावरण विभाग, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, हलेसी डेकोर, वाग्मती फोहर उन्मूलन उपभोक्ता सङ्घका पदाधिकारी, कर्मचारी एवं सदस्यको सहभागिता रहेको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो ।

विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । महाअभियान शुरु भएदेखि प्रत्येक हप्ताको शनिबार बिहान सातबजेदेखि नौ बजेसम्म दुई घण्टा ‘राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ नदीका विभिन्न भागमा सफाइ गरिन्छ । महाअभियान शुरु भएदेखि जाडो, गर्मी, वर्षाद्, चाडपर्व, प्राकृतिक विपत्तिजस्ता प्रतिकुल परिस्थिति आइपरे पनि सफाइलाई निरन्तरता दिन अभियानकर्मी चुक्दैनन् ।

महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान पनि शुरु भएको छ । हाल काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी, सांस्कृतिक स्थल, चक्रपथका उत्तरी र पश्चिमी भेग गरी २५ स्थानमा सफाइ भइरहेको छ । यसैगरी काठमाडौँ उपत्यका बाहिर प्रमुख शहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । हाल काठमाडौँ उपत्यका बाहिर वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर १०९ स्थानभन्दा बढी सफाइ अभियान चलेको अभियानकर्मी चक्रबहादुर चन्दले जानकारी दिनुभयो ।

नागरिकस्तरबाट शुरु भएको सफाइ अभियानले यो रुप लिँदा नदी सफाइकै क्षेत्रमा काम गर्न स्थापना भएका अधिकार सम्पन्न वाग्मती समितिलगायत निकायका काम प्रभावकारी नभएको भन्दै गत हप्ता अभियानकर्मीले ज्ञापन पत्र बुझाएका छन् । रु १४ अर्ब खर्च हुँदा पनि विसं २०५२ मा वाग्मतीलाई ढल मुक्त गर्न स्थापना भएको समितिले एक किमी नदीलाई पनि ढलमुक्त गर्न नसकेको भन्दै महाअभियानले आपत्ति जनाएको हो ।

वाग्मतीका किनारका मनोहरा, रुद्रमती, कुपण्डोलको तल्लो क्षेत्र र विष्णुमतीको टङ्केश्वर क्षेत्रको सार्वजनिक जग्गामा व्यक्ति एवं व्यावसायिक संस्थालाई व्यवसाय गर्न सम्झौता गरी दिइएकामा महाअभियानले निष्पक्ष छानबिनको माग गरेको अभियानकर्मी गोविन्द काफ्लेले बताउनुभयो । यस्ता गैरजिम्मेवार कामको महाअभियानले निन्दा गरेको छ । यसैगरी गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ४१५ औँ हप्तामा गोठाटार पुल क्षेत्रमा सफाइ गरिएको छ । फोहरलाई शून्य बनाउने अवधारणामा आधारित भएर यस क्षेत्रको सफाइ अभियानलाई अघि बढाइएको वाग्मती सुन्दरता सरोकार मञ्चले जनाएको छ । मुहानदेखिकै वाग्मती सफाइमा मञ्च जुट्दै आएको छ । मञ्चले कुहिने फोहरलाई खाडल खनेर घरपरिसरमै व्यवस्थापन गरी कौशीखेती गर्न र नकुहिने फोहर पनि नदी किनारमा नफाल्न आह्वान गरेको अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो ।

मनोहरा सफाइ अभियानको २६४ औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं. ३२ क्षेत्रमा सफाइ गरी एक गाडी फोहर व्यवस्थापन गरिएको छ । हिउँदे वर्षाका कारण चिसो भएपनि सफाइमा करिब ६० जनाको सहभागिता रहेको संयोजक चन्द्र दङ्गालले जानकारी दिनुभयो । यसैगरी आज विष्णुमतीका माथिल्लो र तल्लो भेग, रुद्रमती, चक्रपथका उत्तरी र पश्चिमी खण्ड, ललितपुरको गोदावरी खोलालगायत स्थानमा पनि सफाइ गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology