• Tuesday 28th of July 2026

दुई लाखले भरे राष्ट्रिय परिचयपत्रको फारम


  • गोकर्णेश्वर अनलाइन

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा झण्डै दुई लाखले राष्ट्रिय परिचयपत्रको लागि फारम भरेका छन् । जिल्लाका स्थानीय तहमा सञ्चालन गरिएको घुम्ती शिविर र फिल्ड कार्यालयमा नै पुगेर राष्ट्रिय परिचयपत्रको फारम भर्नेको सङ्ख्या एक लाख ९७ हजार ३८२ पुगेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले साउनमा सञ्चालन भएको घुम्ती शिविरबाट एक लाख ८४ हजार ३३७ ले राष्ट्रिय परिचयपत्रको फारम भरेको जानकारी दिनुभयो । त्यस्तै जिल्ला प्रशासन कार्यालयमा रहेको फिल्ड कार्यालयमा नै पुगेर शुक्रबारसम्म १३ हजार ४५ ले राष्ट्रिय परिचयपत्रका लागि फारम भरेका थापाको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट नयाँ नागरिकता बनाउने भन्दा धेरैले नागरिकताको प्रतिलिपि निकालेका छन् । चालु आर्थिक वर्ष २०७८÷७९ को कात्तिक मसान्तसम्म जिल्लामा चार हजार ४८६ ले नयाँ नागरिकता बनाउँदा चार हजार ६०१ ले नागरिकताको प्रतिलिपि निकालेका छन् । नयाँ नागरिकता बनाउने पुरुष दुई हजार ३३५ तथा महिला दुई हजार १५१ रहेका भन्दै सहायक प्रजिअ थापाले नागरिकताको प्रतिलिपि निकाल्ने पुरुष दुई हजार ४४१ तथा महिला दुई हजार १६० रहेका बताउनुभयो ।

“नागरिकताको प्रतिलिपि निकाल्नेको सङ्ख्या साउन भदौमा बढी देखिएको थियो”, सहायक प्रजिअ थापाले भन्नुभयो, “गाउँगाउँमा राष्ट्रिय परिचयपत्रका लागि टोली जाँदा धेरैको नागरिकता थोत्रो भएको, प्रष्ट नबुझिने भएको तथा नष्ट भएका जस्ता कारण उनीहरुको परिचयपत्रको काम भएन अनि प्रतिलिपि निकाल्न आएका थिए ।” विभिन्न जिल्लाबाट नवलपुरमा बसाइँ सरेर आउनेको नागरिकताको प्रतिलिपिसमेत यहीँ बनाइएका कारण प्रतिलिपि निकाल्नेको सङ्ख्या धेरै देखिएको सहायक प्रजिअ थापाले बताउनुभयो ।

जिल्ला प्रशासनमा राहदानीको काम रोकिएको छ । पुरानो (एमआरपी) राहदानी निर्माण रोकेर नयाँ ‘इ–पासपोर्ट’ बनाउन सुरु भएसँगै जिल्लाबाट राहदानीको काम रोकिएको हो । यद्यपि अत्यावश्यक पर्ने व्यक्तिका लागि इ–पासपोर्टको सिफारिस दिने काम भइरहेको सहायक प्रजिअ थापाले बताउनुभयो ।

“बिरामी भएर उपचारका लागि विदेश जानुपर्ने, विदेश गएर फर्किएर आएको पासपोर्टमा भिसा भएको तर पासपोर्टको म्याद सकिन लागेका जस्ता प्रमाण देखाएको अवस्थामा हामीले इ–पासपोर्टका लागि सिफारिस दिने गरेका छौँ”, सहायक प्रजिअ थापाले भन्नुभयो, “अन्य कामका लागि पासपोर्टको सिफारिस बन्द गरिएको छ ।” अभिभावक विदेशमा रहेका तर नाबालक नेपालमा नै रहेका र उनीहरुलाई विदेश लैजानुपर्ने अवस्था आएको खण्डमा पनि राहदानी सिफारिस दिने गरेको थापाले बताउनुभयो तर, वैदेशिक अध्ययन तथा रोजगारका लागि जान नयाँ राहदानी बनाउन आउनेको हकमा भने अहिले सिफारिस बन्द गरिएको छ ।

अबको केही समयमा नै जिल्लाबाटै इ–पासपोर्ट जारी गर्ने तयारी भइरहेको भन्दै थापाले जिल्लाबाट इ–पासपोर्टको सिफारिससमेत बन्द गरिने बताउनुभयो । अहिले राहदानी विभागसहित उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयले ई–पासपोर्ट जारी गर्दै आएका छन् । जिल्लामा साउनदेखि मङ्सिर पहिलो सातासम्म दुई हजार ६२० पुरुष तथा एक हजार ४०८ महिला गरी चार हजार २८ जले राहदानी लिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology