• Tuesday 28th of July 2026

ओमिक्रोन भित्रिन नदिन सीमा नाकामा उच्च सतर्कता


  • गोकर्णेश्वर अनलाइन

नवलपुर, ४ पुस (रासस) : केही समयअघि दक्षिण अफ्रिकामा पहिचान गरिएको कोभिड–१९ को ‘ओमिक्रोन भेरियन्ट’ भित्रिन नदिनका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ ।

भारतसँग सीमा जोडिएको त्रिवेणी भन्सारमा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले नयाँ भेरियन्ट जिल्लामा भित्रिन नदिनका लागि स्वास्थ्य सचेतनासँगै सीमामा उच्च सतर्कता अपनाइएको बताउनुभयो । “हामीले बोर्डरलाई सुरक्षित पार्नका लागि त्रिवेणी स्वास्थ्य चौकीबाट भन्सारमा हेल्थ डेस्क राखेका छौँ”, उहाँले भन्नुभयो, “सीमा हुँदै नेपाल भित्रिनेहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै उनीहरुलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्न लगाएका छौँ ।” त्रिवेणी भन्सार खुलेको भए पनि यस नाकाबाट यात्रुबाहेक अन्य मालसामान भने आयात निर्यातको काम नभएको उहाँको भनाइ छ ।

“त्रिवेणी भन्सार हुँदै यात्रु मात्रै आवातजावत गर्दैछन्, मालवाहक सवारीसाधन यो नाकाबाट भित्रिएका छैनन्”, प्रजिअ पङ्गेनीले भन्नुभयो, “२२ डिसेम्बरबाट पटनाले भन्सार खोल्ने भन्ने सुनेका छौँ, त्यसपछि यो नाकामा अझै कडाइ गर्नेछौँ ।” त्रिवेणी भन्सारबाट बिहान भारततिर जाने र बेलुका घर फर्किने तथा बाल्मीकी आश्रम जाने मानिस मात्रै आवातजावत गरेको भन्दै उहाँले स्वास्थ्य मापदण्ड पालना गर्न लगाइएको बताउनुभयो । कोरोना भाइरस सङ्क्रमण कम हुँदै गएको अवस्थामा पछिल्लो समय स्वास्थ्य सतर्कतामा लापरबाही भइरहेको उहाँको भनाइ छ ।

जिल्लामा स्वास्थ्य सचेतना वृद्धि गर्दै खोपको सहजताका लागि सङ्घीय सरकारसँग पहल भइरहेको उहाँले बताउनुभयो । बालबालिकाका लागि मोडर्ना खोप लगाउन सुरु गरिएको भन्दै प्रजिअ पङ्गेनीले ज्येष्ठ नागरिकलाई भेरोसिलको बुस्टर डोज लगाउनेबारे तयारी भइरहेको जानकारी दिनुभयो । कोरोना भाइरस सङ्क्रमण बढ्न सक्ने भन्दै उहाँले जिल्लामा हुने कार्यक्रममा स्वास्थ्य मापदण्ड लागू भए नभएको अनुगमन गरिरहेको बताउनुभयो ।

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंले आजदेखि जिल्लाका १२ देखि १८ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन सुरु गरिएको जानकारी दिनुभयो । यही पुस १४ गतेसम्म जिल्लाका ४५ हजार विद्यार्थीलाई मोडर्ना खोपको पहिलो मात्रा लगाएर सकिने उहाँको भनाइ छ । उहाँकाअनुसार माघको २ गतेबाट मोडर्नाको दोस्रो मात्रा विद्यार्थीलाई दिइनेछ । जिल्लामा हालसम्म १८ वर्षमाथिका ८५ प्रतिशत जनसङ्ख्याले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाइसकेका कार्यालय प्रमुख चापागाईंले जानकारी दिनुभयो । उहाँकाअनुसार हालसम्म खोपको पूरा मात्रा लगाउनेको सङ्ख्या एक लाख १० हजार तथा पहिलो मात्रा लगाउनेको सङ्ख्या एक लाख ८५ हजार रहेको छ । खोपको पहिलो मात्रा लगाएका १८ वर्षमाथिका नागरिकलाई माघको पहिलो हप्ताभित्र दोस्रो डोजसमेत लगाइ सक्ने गरी तयारी भइरहेको उहाँको भनाइ छ ।

जिल्लामा कोरोना रोकथाम र उपचारका लागि पूर्णरुपमा तयारी अवस्थामा रहेको प्रमुख चापागाईले जानकारी दिनुभयो । जिल्ला अस्पताल र स्थानीय तहका नगर अस्पतालमा गरी करिब २०० शय्याको आइसोलेशन तयारी अवस्थामा रहेको उहाँको भनाइ छ । हरेक स्थानीय तहमा चिकित्सक स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको भन्दै यसपटक जिल्लामा अक्सिजनको कमी नहुने चापागाईंले बताउनुभयो । “पहिलो लहरमा जस्तो यसपटक अक्सिजनको कमी हुँदैन”, प्रमुख चापागार्इंले भन्नुभयो, “हामीसँग पर्याप्त अक्सिजन, कन्सन्ट्रेटरलगायत सामग्री छन् ।” कोरोना फैलिन नदिनका लागि सचेतनासँगै स्थानीय तहका स्वास्थ्य संस्थालाई उच्च सतर्कता गराइएको प्रमुख चापागाईंले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology