• Tuesday 28th of July 2026

महिलालाई आत्मनिर्भर बनाउन च्याउखेती


  • गोकर्णेश्वर अनलाइन

शुक्लाफाँटा नगरपालिकाका विपन्न परिवारका महिलालाई आत्मनिर्भर बनाउनका लागि च्याउखेतीतर्फ उन्मुख गराइएको छ । नगरपालिकाको कृषि शाखाले महिलालाई च्याउखेतीसम्बन्धी तालिम प्रदान गरी व्यावसायिक बनाउन थालेको हो ।

महिलाको २५ को समूह निर्माण गरी च्याउखेतीबारे आवश्यक तालिमसँगै अनुदानमा कन्याजातको च्याउको बीउ र टनेल निर्माणका लागि सामग्री उपलब्ध गराउने कार्य भइरहेको कृषि शाखाका प्राविधिक सहायक करनसिंह बुढाऐरले बताउनुभयो ।

“वडा नं २, ३, ५, ८ र १२ का गरी १२५ जना महिलालाई तालिमका लागि छनोट गरी च्याउखेतीका लागि आवश्यक सामग्री हस्तान्तरण गर्ने कार्य सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “वडा नं १२ र ८ मा तालिमसँगै अनुदान सामग्री उपलब्ध गराइसकेका छौँ । अन्य वडामा तालिम सञ्चालन भइरहेका छन् ।” तालिम लिएका महिलाले अनिवार्यरुपमा च्याउखेती गरेको हुनुपर्ने शर्त राखिएको छ ।

विपन्न अवस्थाका महिलाको आर्थिक अवस्था सुदृढ गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्नुहुँदै उहाँले महिलालाई तालिमका क्रममा च्याउखेतीका लागि पराल तयार गर्ने कार्यसँगै प्लाष्टिक टनेल बनाउने, प्लाष्टिकका थैलामा च्याउको बीउ राख्ने र बीउ राखिसकेपछि अपनाउनुपर्ने सावधानीका बारेमा तालिमका क्रममा जानकारी दिने कार्य गरिँदै आएको बताउनुभयो ।

तालिममा सहभागी महिलालाई तीन किलो ५०० ग्रामका दरले च्याउको बीउ, प्लाष्टिक टनेल निर्माणका लागि आवश्यक प्लाष्टिक र परालको पोकामा बीउ राख्नका लागि प्रयोग हुने प्लाष्टिकका थैलासमेत अनुदानका रुपमा उपलब्ध गराउने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

प्रत्येक वडामा च्याउखेतीका लागि तालिममा सहभागी हुने २५ जना महिलालाई रु एक लाख बराबरको अनुदान सामग्री उपलब्ध गराउने कार्य भइरहेको प्राविधिक सहायक बुढाएरले बताउनुभयो । पाँच वटा वडामा सञ्चालन हुने तालिम र अनुदानका लागि शाखाले रु पाँच लाख बजेटको व्यवस्था गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology