• Monday 27th of July 2026

छ महिनामा चार अर्ब राजस्व


  • गोकर्णेश्वर अनलाइन

आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको छ महिनामा कूल रु चार अर्ब १६ करोड ६७ लाख ६४ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु चार अर्ब ३८ करोड ७३ लाख ८७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यमा रु २२ करोड छ लाख २२ हजार राजस्व कम सङ्कलन भएको हो ।

गएको आवमा सो अवधिमा रु तीन अर्ब ८८ करोड ९७ लाख ३४ हजार राजस्व सङ्कलन गरेको थियो । सो अवधिमा कार्यालयले रु तीन अर्ब ९१ करोड ५२ लाख ८८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्याललये लक्ष्यभन्दा रु दुई करोड ५५ लाख ५४ हजारले कम राजस्व सङ्कलन गरेको थियो ।

कार्यालय गएको वर्षको सो अवधिमा सङ्कलन गरेको राजस्वभन्दा रु २७ करोड ७० लाख ३० हजार राजस्व बढी सङ्कलन गर्न सफल भएको कार्यालयका प्रमुख सूर्यप्रसाद पोखरेलले जानकारी दिनुभयो । सो अवधिमा गएको वर्षभन्दा सात प्रतिशत बढी राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । कार्यालयले सङ्कलित गरेको राजस्वमा आयकर रु एक अर्ब ७० करोड चार लाख ८६ हजार, बहाल कर रु ५० करोड २५ लाख आठ हजार, ब्याजकर रु पाँच करोड ९८ लाख ५० हजार, मूल्य अभिवृद्धिकर रु एक अर्ब पाँच करोड ६२ लाख १९ हजार, अन्तःशुल्क रु एक अर्ब २९ करोड ९५ लाख ७५ हजार, स्वास्थ्य सेवा रु ३० हजार र शिक्षा सेवा शुल्क रु तीन लाख ४६ हजार छन् ।

सङ्कलित राजस्वमा करदाता सेवा कार्यालय विराट चोकबाट रु १८ करोड एक लाख ४४ हजार, करदाता सेवा कार्यालय पथरीबाट रु १० करोड ६० लाख ७७ हजार र आन्तरिक राजस्व कार्यालय विराटनगरले रु तीन अर्ब ८८ करोड पाँच लाख ४३ हजार सङ्कलन भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology