• Tuesday 28th of July 2026

बागलुङमा दोस्रो लामो झोलुङ्गे पुल बन्ने


  • गोकर्णेश्वर अनलाइन

‘सिङ्गल स्पान’ प्रविधिमा एक टापुबाट अर्को टापुमा जोड्ने नेपालकै दोस्रो लामो झोलुङ्गे पुल निर्माणको प्रक्रिया यहाँ सुरु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्नेगरी कालीगण्डकीमाथि ‘सिङ्गल स्पान’ प्रविधिमा संसारकै लामो (५६७ मी लामो) पुल निर्माण गरेको ‘सस्पेन्सन ब्रिज डिभिजन’ले अर्को लामो पुल निर्माणको तयारी थालेको हो ।

बागलुङ नगरपालिकाको निरन्तर प्रयासपछि डिभिजनले बागलुङ नगरपालिका–४ गौरीधामदेखि पर्वतको जलजला गाउँपालिका–८ नागलीबाङ जोड्ने लामो पुल निर्माणको प्रक्रिया अघि बढाएको हो । प्रारम्भिक सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन तथा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भएपछि झोलुङ्गेपुल निर्माणका लागि बोलपत्रको प्रक्रिया सुरु भएको हो ।

कालीगण्डकीमाथि ५२४ मिटर लामो र १७२ मिटर उचाइमा बन्ने पुल प्रभावित क्षेत्रमा डिभिजनका प्राविधिकहरुको समूहले स्थलगत अध्ययन गरेको छ । “हामी पुल निर्माणका लागि ठेक्का प्रक्रियामा जाँदैछौँ, प्रभावित क्षेत्रमा विवाद रहे नरहेको र परामर्शदाताले काम गर्दा स्थलगत अवलोकन गरे÷नगरेको विषयमा जानकारी लिएका छौँ,” इञ्जिनियर टोपबहादुर बानियाँले भन्नुभयो, “यो नेपालमा ‘सिङ्गल स्पान’ प्रविधिको दोस्रो लामो पुल हो ।”

प्रभावित क्षेत्रका सर्वसाधारणमा उत्साह देखिएकाले बोलपत्रको प्रक्रिया तत्काल सुरु हुने उहाँले बताउनुभयो । पुल निर्माणका लागि नेपाल सरकारले रु १२ करोड विनियोजन गरेको छ । ठेक्का लागेको दुई वर्षमा पुल तयार हुनेछ । “बागलुङमा संसारकै लामो पुल तयार हामीले नै गरेकाले यो पुल तयार गर्न समस्या हुँदैन,” बानियाँले भन्नुभयोे, “प्रविधि त्यही हो, निर्माण व्यवसायीले निर्धारित समयमा काम सक्दा समयमै पुल बन्छ ।”

यो पुल निर्माणका लागि नगरपालिकाले पहल गर्दै आएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । “बजेट विनियोजन भइसकेपछि पनि काममा ढिलाइ भएकाले खबरदारी गरिरहेका थियौँ,” पौडेलले भन्नुभयो, “डिभिजनको समूहले स्थलगत अध्ययन गरेकाले अब काम छिट्टै अघि बढ्छ ।”

पुल निर्माण भएपछि पर्वतको जलजला गाउँपालिकाका सर्वसाधारणलाई बागलुङ बजारको पहुँचमा ल्याउन सहज हुनेछ । नागलीबाङमा उत्पादन हुने तरकारी बागलुङ बजार ल्याउन, पञ्चकोट, शालग्राम सङ्ग्रहालय र बागलुङ कालिका लगायतका ठाउँमा पर्वतका सर्वसाधारणलाई आवतजावत गर्न र बागलुङका सर्वसाधारण पर्वत जान सहज हुने बागलुङ नगरपालिका–४ का अध्यक्ष ध्रुवबहादुर केसीले बताउनुभयो ।

यो पुल बनेपछि घण्टौँ लाग्ने बाटो १० मिनेटमा छोटिनेछ । पर्वतको नागलीबाङका सर्वसाधारणलाई बागलुङ आउन र बागलुङबाट जलजला गाउँपालिका जानका लागि कालीगण्डकीले बनाएको खोँचमा आवतजावत गर्नुपर्ने बाध्यता छ । बागलुङको बलेवा नारायणस्थान र पर्वत सदरमुकाम कुश्मा बजार जोड्ने गरी अर्को लामो पुलको अध्ययन भइरहेको पनि नगरप्रमुख पौडेल बताउनुहुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology