• Monday 27th of July 2026

टोखामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन र फोटो खिचाउने कार्य सुरु


  • गोकर्णेश्वर अनलाइन

काठमाडौँको टोखा नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन र फोटो खिचाउने कार्य सुरु भएको छ ।

सरकारबाट प्रदान हुने विभिन्न आवश्यक सेवा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्न लागेसँगै टोखाले आजदेखि राष्ट्रिय परिचयपत्रको विवरण भर्ने र फोटो खिचाउने काम सुरु गरेको हो ।

नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डङ्गोलले टोखाका बासिन्दालाई राष्ट्रिय परिचयपत्र सहज ढङ्गले वितरण गर्नका लागि व्यक्तिको विवरण भर्ने र फोटो खिचाउने काम नगरपालिकाबाटै सुरु गरिएको जानकारी दिनुभयो । परिचयपत्र लिनका लागि नेपाली नागरिकता प्रमाणपत्रको सक्कल, बाबु÷आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नागरिकता प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा वडा कार्यलयको सिफारिस, राहदानी लिएको भए सोको सक्कल वा प्रतिलिपि, बसाइँसराइको हकमा बसाइँसराइको प्रमाणपत्र, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको सक्कल आवश्यक पर्ने सो नगरपालिकाले जनाएको छ ।

राष्ट्रिय परिचयपत्रको विवरण भर्न र फोटो खिच्ने कार्यका लागि सम्बन्धित व्यक्ति टोखा नगरपालिकाको बासिन्दा हुनुपर्ने उपप्रमुख डङ्गोलले बताउनुभयो ।

नगर बालसञ्जाल पुनर्गठन

टोखामा नगर बालसञ्जाल पुनर्गठन भएको छ । दुई वर्ष पहिले स्थापना भएको नगर बालसञ्जाललाई आज पुनर्गठन गरिएको उपप्रमुख डङ्गोलले बताउनुभयो । उपप्रमुख डङ्गोलका अनुसार पुजा तामाङको अध्यक्षतामा ९ सदस्यीय नगर बाल सञ्जाल पुनर्गठन गरिएको हो । बाँकी दुई सदस्यपछि थप्नेगरी बालसञ्जाल पुनर्गठन गरिएको टोखा नगरपालिकाले जनाएको छ ।

यस्तै, टोखाले सबै वडा र विद्यालयमा बालसञ्जाल पुनर्गठन गरिसकेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा ११ वडा रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology