• Monday 27th of July 2026

विदेशको लाख कमाइ छाडेर महेन्द्रनगरमा घुम्ती चिया व्यापार


  • गोकर्णेश्वर अनलाइन

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐटपुरका ३० वर्षीय हरिष चन्द दैनिकजसो बिहान र साझँ चियाको घुम्ती व्यापारमा व्यस्त देखिनुहुन्छ । पाँच वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा दुवई पुग्नुभएका उहाँले त्यहाँ सेक्यिुरिटी गार्डका रूपमा काम गर्नुभएको थियो ।गत मङ्सिर १ गतेदेखि आफ्नै ठाउँमा केही गरौँ भन्ने बिचार गर्दै घुम्ती चियाको व्यापार थाल्नुभएका उहाँले अहिले दैनिक रु तीनदेखि चार हजारसम्मको चियाको व्यापार गरिरहेको बताउनुभयो । “चिया राख्ने भाँडो (हटपट) खरिद गरेर यहाँ पसल–पसलमा बिहान ६ देखि १० र बेलुकी ३ देखि ५ बजेसम्म चियाको व्यापार गर्छु”, चन्दले भन्नु्भयो, “मेहेनत गरे कमाउनका लागि विदेशिनुनै पर्छ भन्ने होइन रहेछ ।”

चियामा थोरै लगानीमा राम्रो आम्दानी हुने गरेको छ । दैनिक १५० देखि २०० कप चिया बिक्री हुने गरेको बताउँदै उहाँले आफू यो व्यापारबाट सन्तुष्ट रहेको बताउनुभयो । “आफ्नै भूमिमा काम गर्ने भन्दै अवुदाबीमा मासिक रु एक लाख बचत हुने जागिर छाडेर यहाँ आएँ”, उहाँले भन्नुभयो, “अहिले बजारमा चिया बेचिरहँदा मिश्रित खालको प्रतिक्रिया पाए पनि म सन्तुष्ट छु ।”

यहाँको आर्दश विद्या निकेतनबाट प्रवीणता प्रमाणपत्र तह उत्रिर्ण गर्नुभएका चन्दले परिवारबाट पनि सहयोग पाउँदा आफूले सानै भए पनि राम्रै व्यापार गर्न पाइरहेको बताउनुभयो । “बीचको समयमा कोरोनाका कारण यहाँ आए पनि केही काम गर्न सक्ने अवस्था थिएन”, उहाँले भन्नुभयो, “अहिले कालो चिया प्रतिगिलास रु १५ र दूध चिया रु २० का दरले बिक्री गरिरहेको छु ।”

चन्दले युवा पिँढी स्वदेशमा काम गर्न नरुचाउने तर विदेश गएर कडा मेहेनत गर्न पनि तयार हुने वातावरण रहेको बताउनुभयो । “तरकारी फलाएर बेच्छु् भन्नेलाई सरकारी सहयोग हुने खालका कार्यक्रम ल्याइदिए युवाशक्ति यही बसेर जीविका चलाउन सक्थ्यो”, उहाँले भन्नुभयो, “हामी युवा पनि सानोतिनो काम गर्न लाज मान्ने गर्नुहुँदैन ।”

घरमै चिया तयार गरेर बजारमा दैनिक बिक्री गर्न निस्कनु हुने चन्द यहाँको बजार, बसपार्क, कभर्डहललगायत क्षेत्रमा चिया बिक्री गर्दै आउनुभएको छ । “बेलुकी ५ बजेपछि मात्रै अलि फुर्सद हुन्छ”, उहाँले भन्नुभयो, “दिनभरिजसो ग्राहकको चियाको प्यास मेटाउने काममै हुन्छु”, चन्दले चिया व्यापारलाई नै दीर्घकालीनरूपमा अघि बढाउने सोच बनाएको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology