• Monday 27th of July 2026

नेष्डो समृद्ध लघुवित्तको आइपिओ खुला


  • गोकर्णेश्वर अनलाइन

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आजदेखि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुला गर्ने गरेको हो ।

कम्पनिले निष्कासन गरेको साधारण शेयरमा कुल निष्कासनको पाँच प्रतिशत अर्थात् ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरी जारी पूँजी(रु २५ करोड ५०लाख)को शुन्य दशमलव पाँच प्रतिशत अर्थात् १२ हजार ७५० कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरेपश्चात बाँकी रहने ७ लाख ७४ हजार ५६३ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आव्हान पत्रमा उल्लेख छ ।

सर्वसाधारणले फागुन १५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् र सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए आगामी फागुन २५ सम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर पनि शेयर खरिद गर्न आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

अधिकृत पूँजी रु ५० करोड र हालको जारी पूँजी रु २५ करोड ५० लाख तथा चुक्ता पूँजी रु १७ करोड २१ लाख २५ हजार रहेको कम्पनीले सर्वसाधारणलाई खरिदका लागि खुला गरेको साधारण शेयरको बाँडफाँड पश्चात यसको चुक्ता पूँजी रु २५ करोड ५० लाख पुग्नेछ ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी आइ आर बीबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङ अनुसार कम्पनीको हालको अवस्था वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने बुझिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology