• Sunday 26th of July 2026

गरिब मुलुकमा खाद्यवस्तुको थप मूल्य वृद्धि हुने दावी


  • गोकर्णेश्वर अनलाइन

लण्डन, ११ चैत (रासस÷एएनआई) – विश्व व्यापार सङ्गठनकी महानिर्देशक एनगोसी ओकोन्जो इबेयलाले यूक्रेन सङ्कटका कारण खाद्य पदार्थको मूल्य वृद्धि भएको दावी गर्नु भएको छ ।

उहाँका अनुसार खाद्य पदार्थको मूल्य वृद्धि भएपछि खाद्य सङ्कट पनि बढ्ने खतरा देखिएको छ ।

खाद्य पदार्थमा भएको मूल्य वृद्धि र खाद्य सङ्कटको असर सबैभन्दा बढी गरिब देशहरूमा पर्न सक्ने पनि उहाँले बताउनुभयो ।

“यस बारेमा हामी धेरै चिन्तित हुनुपर्दछ भन्ने मलाई लाग्छ, यसको असर विषेश गरेर गरिब मुलुकहरूमा बढी पर्दछ,” उहाँले भन्नुभयो ।

खाद्य पदार्थको मूल्य वृद्धि र खाद्य सङ्कटका कारण ठूलो मानवीय क्षति समेत हुन सक्नेमा पनि उहाँले चिन्ता व्यक्त गर्नुभएको छ ।

विश्वका धेरै देशमा खाद्य सङ्कटसँगै उर्जा सङ्कट पनि मुख्य समस्याका रुपमा देखिँदै गएको र यो अझ बढ्न सक्ने उहाँको भनाई छ । उर्जा सङ्कटका रुपमा उहाँले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र अभावलाई समेत संकेत गर्नु भएको जनाइएको छ ।

गार्जियनसँगको अन्तरवार्ताका क्रममा महानिर्देशक ओकोन्जोले दुवै सङ्कटबाट सबैभन्दा बढी पीडित हुने नै गरिब मानिस भएकाले त्यस तर्फ विश्वको ध्यान जानु पर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology