• Saturday 25th of July 2026

भूकम्पपछि १४६ विद्यालय भवन पुनःनिर्माण


  • गोकर्णेश्वर अनलाइन

विसं २०७२ मा गएको भूकम्प र पराकम्पबाट क्षति भएका १६२ विद्यालय भवनमध्ये १४६ विद्यालयका भवन पुनःनिर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको बजेटमा १३० र गैरसरकारी संस्थाको बजेटमा १६ गरी १४६ विद्यालयको भवन पुनः निर्माण सम्पन्न गरिएको हो ।

दस स्थानीय तह रहेको जिल्लामा १६ विद्यालयको भवन पुनः निर्माणको काम धमाधम भइरहेको शिक्षा विकास तथा समन्वय एकाइका इन्जिनियर बुद्धन यादवले जानकारी दिनुभयो । “जिल्लाभरका ९९ विद्यालयमा आधुनिक शौचालयसहितका भवन निर्माण भइरहेका छन्”, उहाँले भन्नुभयो, “निर्माणाधीन शौचालयमा किशोरीले स्यानिटरी प्याड डिस्पोज गर्न तथा लगाउन र फेर्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।”

निर्माणाधीन विद्यालय भवन यही चैत मसान्तभित्र सम्पन्न हुने अवस्थामा रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । जिल्लामा दुईकोठे, तीन कोठे र चारकोठे पक्की विद्यालय भवन निर्माण सुरु गरिएको हो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म ८७ शौचालय निर्माण भइसकेका र १२ शौचालय निर्माणको काम भइरहेको जनाइएको छ । पुनःनिर्माण प्राधिकरणकै बजेटमा जिल्लाका ५१ विद्यालयमा खानेपानीको योजनासमेत परेको जनाइएको छ ।

जिल्लाका ४६ विद्यालयमा खानेपानीको योजनाको काम सम्पन्न भएको छ भने पाँच विद्यालयमा निर्माण हुन बाँकी छ । बाँकी रहेका विद्यालयमा तत्काल खानेपानी योजना निर्माणको काम सुरु गर्न विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरिएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

प्राधिकरणले चारकोठे भवन निर्माणका लागि रु ७० लाख ४० हजार, तीनकोठे भवनका लागि रु ३५ लाख ८० हजार, दुईकोठे भवन निर्माणका लागि रु २३ लाख ९० हजार, शौचालय निर्माणका लागि रु १५ लाख र खानेपानी योजनाका लागि रु सात लाख ४० हजार बजेट उपलब्ध गराएको छ । विद्यालय भवन, शौचालय र खानेपानी योजनाको काम जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)ले हेर्दै आए पनि गत असारपछि उक्त कार्यालय उठेसँगै अहिले शिक्षा विकास तथा समन्वय एकाइले हेर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology