• Monday 27th of July 2026

व्यावसायिक प्रवद्र्धनमा केन्द्रित हुन सभामुख सापकोटाको आग्रह


  • गोकर्णेश्वर अनलाइन

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय एकताका साथ व्यावसायिक प्रवद्र्धनमा केन्द्रित हुन उद्योगी तथा व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्सको ७१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनता र राष्ट्रलाई केन्द्रमा राखेर व्यवसायको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको हो ।जलवायु परिवर्तनले खडा गरेको व्यवधानलाई पनि सहन गर्दै नयाँ सोच र व्यवहारका साथ अगाडि बढेमात्रै अर्थतन्त्रका आयाम विस्तार तथा विकास गर्नुपर्ने सभामुख सापकोटाको भनाइ थियो ।

सुशासन कायम गर्ने तथा भ्रष्टाचार नियन्त्रण गर्ने सवाल गहन विषय भएकाले यसमा निरन्तर लाग्नुपर्ने र सबै सरोकारवाला निकायका पदाधिकारीको आचरणमा सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कोरोनालगायत अन्य कारणबाट सङ्कटमा परेको नेपालको उद्यम तथा व्यवसाय क्रमशः लयमा फर्कंदै आएकाले नआत्तिइकन व्यावसायिक धर्म निर्वाह गर्न सभामुख सापकोटाले आग्रह गर्नुभयो ।उहाँले कुशल व्यवसायी नै समाजको पथप्रदर्शकसमेत हुने भएकाले राज्यको नियम तथा कानून पालना गर्दै उद्यममा क्रियाशील हुन नेपालको व्यावसायिक क्षेत्रको ध्यानाकर्षण गराउनुभयो ।

मुख्यसचिव शङ्करदास वैरागीले व्यवसायिक क्षेत्रको प्रवद्र्धन र विस्तारका लागि सरकारले सहयोग गरिरहेको बताउनुभयो । पछिल्ला दिनमा उद्योग तथा व्यवसायका क्षेत्रमा पनि नयाँ खालको जोखिम देखिए पनि सबैको सुझाव र सल्लाहका आधारमा सरकार अगाडि बढ्ने विश्वास दिलाउनुभयो । उहाँले उद्योगी तथा व्यवसायीको समस्या समाधानका लागि सरकारकातर्फबाट निर्वाह गर्नुपर्ने भूमिकामा कुनै कमी नहुने धारणा व्यक्त गर्नुभयो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कोरोनाको असर कम भएसँगै मुलुकको अर्थतन्त्र पूरानै लयमा फर्किन सङ्घर्षरत रहेको उल्लेख गर्दै बजेट र मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयन हुन नसक्दा सबै क्षेत्रमा चाप परेका विषयलाई नकार्न नसकिने बताउनुभयो ।

बढ्दो आयात र कमजोर निर्यात, वैदेशिक सहायता तथा लगानीको अभावका कारण वैदेशिक मुद्राको अभाव भई मुलुकको व्यापारघाटा धान्न नसक्ने गरी बढेको उहाँले स्पष्ट पार्नुभयो । अध्यक्ष मल्लले विद्यमान समस्या समाधानका लागि सरकारी निकायले चनाखो भई चिन्तन गर्नुपर्ने र उपयुक्त उपाय निकालेर कार्यान्वयनमा लैजानुपर्ने खाँचो औँल्याउनुभयो ।अर्थतन्त्रका विद्यमान समस्या समाधानका लागि कार्यान्वयनयोग्य व्यावहारिक उपायबारे सुझाव दिनका लागि चेम्बर तयार रहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology