• Monday 27th of July 2026

इन्धन आयातमा वृद्धि


  • गोकर्णेश्वर अनलाइन

वीरगञ्ज भन्सार कार्यालयबाट इन्धनका आयातमा उलेख्य वृद्धि भएको छ । देशकै प्रमुख व्यापारिक नाका सो भन्सारबाट गत आर्थिक वर्ष आठ महिनाका तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी रु ५६ अर्ब ७० करोड ६३ लाखभन्दा बढी मूल्यको रु १० लाख ९७ हजार २९६ किलोलिटर बढी इन्धन आयात भएको हो ।

आव २०७७÷७८ को साउनदेखि फागुनसम्ममा रु ५६ अर्ब ४४ करोड २३ लाखको नौ लाख ४१ हजार ५५७ किलोलिटर डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र एक लाख ६६ हजार ७९७ मेट्रिक टन खाना पकाउने एलपिजी ग्यास आयातको तुलनामा चालु आवको सोही अवधिमा रु एक खर्ब १३ अर्ब १४ करोड ८७ लाख मूल्यको २० लाख ३८ हजार ८५३ किलोलिटर इन्धन र एक लाख ८७ हजार ४५६ मेट्रिक टन ग्यास आयात भएको सो कार्यालयले जनाएको छ ।

यो समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा १००.४६ प्रतिशत बढी मूल्यको ११६.५४ प्रतिशत इन्धन बढी आयात भएको हो । कोरोना महामारीका कारण गत वर्ष मुलुकभित्रको उद्योग व्यपार तथा यातायात सञ्चालनमा कमी देखिएको थियो । चालु आवमा सङ्क्रमण दरमा आएको कमीले जनजीवन तथा उद्योग व्यपार समान्यरूपमा सञ्चालन भएकाले इन्धनको आयात बढी भएको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो । उहाँले इन्धनको आयात बढेको सकारात्मक प्रभाव राजस्व सङ्कलनमा देखापरेकोे बताउनुभयो ।

गत आवको आठ महिनामा वीरगञ्जनाका प्रयोग गरी नेपालका लागि भएको इन्धन आयातबाट रु ३५ अर्ब ८३ करोड ६८ लाख राजस्व सङ्कलन भएको थियो । चालु आवको सोही अवधिमा रु १३ अर्ब ७२ करोड ९२ लाख बढी अर्थात् रु ४९ अर्ब ५६ करोड ६१ लाख राजस्व सङ्कलन नभएको भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology