• Monday 27th of July 2026

मधेस प्रदेशमा ३३ लाख बढी मतदाता, दुई हजार १६३ मतदानस्थल


  • गोकर्णेश्वर अनलाइन

मधेस प्रदेशमा स्थानीय तह निर्वाचनका लागि ३३ लाख ३१ हजार १७० जना मतदाता कायम भएको छ । प्रादेशिक निर्वाचन कार्यालय जनकपुरधामका अनुसार प्रदेशभरि पुरुष १७ लाख ९७ हजार ९४५, महिला १५ लाख ३३ हजार १५८ र अन्य ६६ गरी कूल ३३ लाख ३१ हजार १७० जना मतदाताले मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोग नेपालले २०७९ साल वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताको नामावलीसमेत समावेश गरिने हुँदा सो सङ्ख्यामा मतदाताले मतदान गर्न पाउने अधिकार प्राप्त हुने प्रादेशिक निर्वाचन कार्यालयका अधिकारी श्रीधर पन्तले जानकारी दिनुभयो ।

निर्वाचन कार्यलयका अनुसार प्रदेशको धनुषामा पुरुष दुई लाख ४८ हजार ८४०, महिला दुई लाख १८ हजार ५४२ र अन्य छजनासहित कूल चार लाख ६७ हजार ३८८, महोत्तरीमा पुरुष दुई लाख १२ हजार २०३, महिला एक लाख ७९ हजार ३७३ र एकजना अन्य गरी जम्मा तीन लाख ९१ हजार ५७७ र सर्लाहीमा दुई लाख ५७ हजार १३८ पुरुष, दुई लाख १७ हजार २९२ महिला र अन्य नौ गरी कूल चार लाख ७४ हजार ४३९ मतदाता रहेका छन् । त्यसैगरी सप्तरीमा दुई लाख १३ हजार ८९२ पुरुष, एक लाख ९८ हजार ५३२ महिला र अन्य २१ गरी कूल चार लाख १२ हजार ४४५ र सिरहामा दुई लाख १९ हजार ५६४ पुरुष, एक लाख ९४ हजार ६०० महिला र अन्य दुई गरी जम्मा चार लाख १४ हजार १६६ कायम भएको छ ।

रौतहटमा पुरुष दुई लाख २२ हजार ९४५, महिला एक लाख ८५ हजार ४६, अन्य एकजना गरी जम्मा चार लाख सात हजार ९९२, बारामा दुई लाख ३१ हजार ८२६ पुरुष, एक लाख ९१ हजार ४९० महिला र ११ अन्यसहित कूल चार लाख २३ हजार ३२७ र पर्सामा एक लाख ९१ हजार ५३७ पुरुष, एक लाख ४८ हजार २८३ महिला र १६ जना अन्यसहित कूल तीन लाख ३९ हजार ८३६ जना मतदाताले मतदान गर्न पाउने प्रादेशिक निर्वाचन कार्यालयका अधिकारी पन्तले जानकारी दिनुभयो ।

उहाँले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा मतदान गर्न प्रदेशभरि दुई हजार १६३ मतदानस्थल कायम गरिएको छ भने चार हजार १८९ मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिनुभयो । उहाँले कायम गरिएको मतदानस्थल र केन्द्रअनुसार सप्तरीमा २९७ मतदानस्थल, ५३६ मतदान केन्द्र, सिरहामा २२१ मतदानस्थल, ४९८ मतदान केन्द्र, धनुषामा ३२३ मतदानस्थल, ५९३ मतदान केन्द्र, महोत्तरीमा २५८ मतदानस्थल, ४९७ मतदान केन्द्र, सर्लाहीमा ३१८ मतदानस्थल, ५९९ मतदान केन्द्र, रौतहटमा २७६ मतदानस्थल, ५१८ मतदान केन्द्र, बारामा ३०३ मतदानस्थल, ५४१ मतदान केन्द्र र पर्सामा १६७ मतदान स्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको जनाउनुभयो ।

निर्वाचनका लागि निर्वाचन अधिकृतको तालिम सुरु भएको र आगामी ८ गतेदेखि स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खोल्ने तयारीसमेत भइसकेको प्रादेशिक निर्वाचन कार्यालयका अधिकारी पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology