• Monday 27th of July 2026

पानीका स्रोतको पूजा आराधना गरी मनाइयो सिठी नख पर्व


  • गोकर्णेश्वर अनलाइन

राजधानीलगायत सहरमा नेवार समुदायले कुवा, इनार, पोखरी, धारालगायत पानीका स्रोतको सफाइ गरी पूजा आराधना गरी सिठी नख पर्व मनाएका छन् । मार्कण्डेयलगायत पुराणमा सिठी देवताका रुपमा पानीका स्रोतमा प्रत्येक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन पूजा आराधना गर्नुपर्ने विषय उल्लेख गरिएको छ । संयोगले यो वर्ष सिठी नख पर्वका दिन जुन ५ अर्थात् विश्व वातावरण दिवस पनि परेको छ । पुराणको वचनअनुसार नै यो पर्व मनाउने परम्परा सुरु भएको धर्मशास्त्रविद् प्रा डा देमणि भट्टराईले बताउनुभयो ।

यस अवसरमा राजधानीलगायत देशभरका पानीका मुहानमा सफाइ गरिएको छ । यो पर्व विशेषगरी नेवार समुदायको बाहुल्यता रहेका स्थानमा मनाइएको छ । नेवार समुदायबाट पानीको स्रोत सफाइ सिकेकाले पनि यो पर्व मनाएका छन् । संयुक्त राष्टसङ्घले वातावरण दिवस मनाउन थालेको ५० वर्ष भयो । तर आदिकालदेखि नै सिठी नख पर्व मनाउने गरिन्छ । सिठी नखमा विशेषगरी पानीका मुहानको सफाइ गरिन्छ ।

मनाइयो कुमार षष्ठी

ज्येष्ठ शुक्ल षष्ठीकै दिन मनाइने कुमार षष्ठी पर्व पनि आज देवताहरूका सेनापति कुमार कार्तिकेयको पूजा आरधना एवं व्रत गरी मनाइएको छ । सत्य युगमा महादेवका ज्येष्ठ सुपुत्रका रुपमा कुमार कार्तिकेय जन्मिएको सम्झनामा उहाँको पूजा आरधना गरी यो पर्व मनाउने गरिएको हो । षष्ठीबाट अपभ्रंश भएर कुमार कार्तिकेयलाई सिठी पनि भनिन्छ । शिव पार्वतीले पृथ्वी घुमेर आउनेलाई पहिलो पूजा गर्ने रीत बसाल्ने घोषणा गरेपछि कुमारले आफ्नो वाहन मयूर चढेर ब्रह्माण्डको परिक्रमा गरे पनि गणेशले विश्व ब्रह्माण्ड भनेकै शिव पार्वती भनी पहिलो पूजाको अवसर पाएको कथा पनि विभिन्न पुराण उल्लेख गरिएको छ ।

गणेशपछि भने कुमारको पूजा गर्ने गरिन्छ । गणेशकुमाराभ्यां नमः भन्ने वाक्यले दुवैको पूजा गरिने उहाँले बताउनुभयो । यस दिन छ थरीका पूजा सामग्रीले सिठी नखको पूजा आराधना गरिन्छ । छ वटा पात भएको कमलको पूmल, मास, मुगी, केराउ, चामलको पिठो, गहुँको पिठो, कुमकुम आदिबाट बनाइएका खाद्य पदार्थ, छ थरी व्यञ्जनका साथ सिठी नखको पूजा आराधना हुन्छ । यसअघि कुनै कारणवश कूल पूजा गर्न रोकिएकाले आजैका दिन गर्ने चलन छ । यो चलन विशेषगरी नेवार समुदायमा बढी छ । पानीको पूजा आराधना गरी आजैदेखि रोपाइँको शुरुआत् हुने भनाई समेत छ । यस दिन स्थान विशेषअनुसार असारे गीत, कौला राग आदि गाउने गरिन्छ ।

पद, धन र मानको हानी भएका व्यक्तिले यस दिन व्रत गरी पूजा आराधना गरेमा गुमेको स्थान फिर्ता हुन्छ भन्ने विश्वाससमेत छ । यस पर्वका अवसरमा मध्यकालमा काठमाडौँका दुई टोलका मानिस युद्ध गरेको नाटक गर्ने परम्परा थियो । लडाइँमा चोटपटक लागी मानिस घाइते हुन थालेपछि जङ्गबहादुर राणाले यो चलन बन्द गराएको भन्ने भनाइ छ ।

ज्येष्ठ शुक्ल सप्तमीका दिन क्षेत्रपाटीस्थित नघल टोलमा रहेको कुमार कार्तिकेय (सिठी देवता) को मन्दिरमा पूजा सामग्री सहित विभिन्न प्रकारका नैवेद्य लिएर पूजा गर्न जाने चलन छ । ज्येष्ठ शुक्ल सप्तमीको दिन राति कुमार कार्तिकेयलाई खटमा राखी राजधानी शहरका विभिन्न स्थानमा घुमाउने गरिन्छ । काभ्रेपलाञ्चोकको सदरमुकामा धुलिखेलमा छ वटा टाउको भएको कार्तिकेयको मूर्ति छ । त्यो मूर्तिले कुमारका छ शक्तिको चारित्रिक प्रभाव दर्शाउने जनाइएको छ । कुमारका छ टाउका भएकाले छ प्रकारका सामग्री एवं नैवेद्यले पूजा गर्ने चलन बसेको भन्ने भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology