• Sunday 26th of July 2026

नेप्से परिसूचक ६० अङ्कले बढ्यो


  • गोकर्णेश्वर अनलाइन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेप्सेले आज भने राहतको श्वास फेरेको छ । धितोपत्र बजारमा समस्या समाधानका लागि समिति गठन गर्ने विषयमा अर्थमन्त्री जनार्दन शर्मा र सम्बद्ध अधिकारीबीच भएको छलफलले पनि सकारात्मक वातावरण बनाएको जानकारहरूको टिप्पणी छ ।

ओरालो लागेको नेप्से परिसूचक थामिँदा कारोबार रकममा पनि सामान्य सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार ६०.२२ अङ्कले नेप्से परिसूचक उकालो लागेर दुई हजार ८०.४४ अङ्कमा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूूचक ११.२५ अङ्कले उकालो लागेर ४००.३७ मा पुगेको छ ।

कूल २३१ कम्पनीको ५० लाख ५८ हजार ८१४ कित्ता शेयर रु एक अर्ब ६४ करोड तीन लाख ५६ हजार ६०८ बराबरको कारोबार भयो । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब ६३ अर्ब ५७ करोड ९० लाख ७० हजार बराबर भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ २९.३५, व्यापार ५८.२६, होटल तथा पर्यटन ९२.७४, विकास बैंक ११६.३९, जलविद्युत् ८४.६, वित्त ७४.९७, निर्जीवन बीमा ३२०.३, उत्पादन १५४.७४, अन्य ५७.७९, लघुवित्त १५४.८, जीवन बीमा २९३.१३, सामूहिक लगानी कोष ०.१७ र लगानी १.९१ अङ्कले उकालो लागेका छन् ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु पाँच करोड १२ लाख ४० हजार ३३२ बराबरको कारोबार भयो । कुमारी बैंक रु चार करोड ९९ लाख १५ हजार २४६, हिमालयन डिस्टिलरी रु चार करोड ९४ लाख ३५ हजार ८८२, नेपाल इन्भेस्टमेन्ट बैंक रु चार करोड ७४ लाख १० हजार ७३० र अपी पावर कम्पनीको रु चार करोड ५९ लाख ७४ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार उपकार लघुवित्त, सामुदायिक लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । बलेफी हाइड्रोपावर ९.९६, कालिका लघुवित्त ९.९५ र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ९.४४ प्रतिशतले कमाए । त्यस्तै, माउन्टेन हाइड्रो नेपाल, ४.११, आरबिबी म्युचुअल फन्ड एक २.८६, नबिल ब्यालेन्स फन्ड दोस्रो २.८२, एनआइबिएल प्रगति फन्ड १.९० र हिमालयन बैंकका लगानीकर्ताले ०.९६ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology