• Sunday 26th of July 2026

१० महिनामा विदेशी मुद्राको सञ्चिति २१.१ प्रतिशतले ओरालो लाग्यो


  • गोकर्णेश्वर अनलाइन

सरकारले अनेक प्रयास गरे पनि विदेशी मुद्राको सञ्चिति ओरालो लाग्ने क्रम रोकिएको छैन । पछिल्लो १० महिनामा विदेशी मुद्राको सञ्चितिमा २१.१ प्रतिशतले कमी आएको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको १० महिनाको विवरणअनुसार विदेशी मुद्रा सञ्चिति मात्रै नौ अर्ब २८ करोड अमेरिकी डलर बराबर कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार २०७८ असार मसान्तमा रु १३ खर्ब ९९ अर्ब तीन करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले कमी आई २०७९ वैशाख मसान्तमा रु ११ खर्ब ४६ अर्ब ८८ करोड कायम भएको थियो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा २१.१ प्रतिशतले कमी आई नौ अर्ब २८ करोड कायम भएको छ ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा १८.३ प्रतिशतले कमी आई रु १० खर्ब १७ अर्ब २७ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु एक खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा १६.१ प्रतिशतले कमी आई रु एक खर्ब २९ अर्ब ६१ करोड कायम भएको छ ।

त्यस्तै २०७९ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.१ प्रतिशत छ । चालु आवको दश महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.३४ महिनाको वस्तु आयात र ६.५७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology