• Sunday 26th of July 2026

नेप्से परिसूचकको पहिरो थामिएन


  • गोकर्णेश्वर अनलाइन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार १५.८२ अङ्कले नेप्से परिसूचक ओरालो लागेर दुई हजार ३२.३४ मा कायम भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.२७ अङ्कले कमी आई ३८९.९८ मा ओर्लेको छ ।

नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम अर्ब पनि पुग्न सकेन । कूल २३० कम्पनीको २९ लाख २० हजार ७०५ कित्ता शेयर रु ९९ करोड ८६ लाख ७४ हजार २६२ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । त्यसमा बैंकिङ ११.०७, व्यापार १५.७८, होटल तथा पर्यटन ३६.०१, विकास बैंक १६.७३, जलविद्युत् ५.२२, वित्त १७.२८, निर्जीवन बीमा १०२.१९, उत्पादन ५१.५, अन्य १.५५, लघुवित्त २८.०२, जीवन बीमा १३८.१२, सामूहिक लगानी कोष ०.०८ र लगानी ०.९२ अङ्कले ओरालो लागेको छ ।

नेप्सेका आधारमा सानिमा बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु नौ करोड एक लाख ६१ हजार ५७४ बराबरको कारोबार भयो । उपकार लघुवित्त रु पाँच करोड ६३ लाख ६४ हजार, सिभिल बैंक रु पाँच करोड ३७ लाख, बैंक अफ काठमाडौँ रु चार करोड ६९ लाख १४ हजार ७१३ र सेञ्चुरी बैंक रु दुई करोड ८३ लाख ९६ हजार ९३२ बराबरको कारोबार भई शीर्ष पाँच भित्र परेका छन् ।

नेप्सेका अनुसार बलेफी हाइड्रोपावर ९.९९, ग्रीन भेञ्चर्स लिमिटेड ९.९८, युनिलिभर नेपाल ४.१०, आँधीखोला लघुवित्त ४.०२ र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ३.८१ प्रतिशतले कमाएका छन् । त्यस्तै, मानुषी लघुवित्त ५.४०, एनएमबी (५०) ५.२८, ओरियन्टल होटल ५.२०, बुद्धभूमि नेपाल हाइड्रोपावर ५.०६ र उपकार लघुवित्तका लगानीकर्ताले ४.५१ प्रतिशतले गुमाएका छन् ।

सातामा ६ दिन शेयर कारोबार

अब शनिबारबाहेक सबैदिन शेयर बजार खुल्ने भएको छ । शेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले हालसम्म सातामा ५ दिन मात्रै खुल्ने गरेको शेयर कारोबार अब ६ दिन नै खुलाउने तयारी गरेको हो । सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै नेप्सेले सातामा ६ दिन नै (शनिबार बाहेक) सेयर कारोबार खुल्ला गर्न लागेको जनाएको छ । यसअघि शनिबार र आइतबार सार्वजनिक बिदा गर्ने सरकारको निर्णयपछि शुक्रबार शेयर कारोबार खुला गरेर आइतबार बन्द गरिएको थियो ।

सरकारले असार १ गतेदेखि आइतबार दिएको सार्वजनिक बिदा खारेजको निर्णय गरिसकेको छ । सरकारले आइतबार दिएको बिदा खारेज गरे पनि नेप्सेले शुक्रबार पनि शेयर कारोबार खुल्ला राख्ने निर्णय गरेको हो । नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले शुक्रबार शेयर कारोबार खुल्ला गर्ने विषयमा निर्णय भएको जानकारी दिनुभयो । उहाँका अनुसार आइतबारदेखि बिहीबारसम्म साविककै समय ११–३ बजेसम्म र शुक्रबार भने १ बजेसम्म शेयर कारोबार हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology