• Sunday 26th of July 2026

आदर्श लघुवित्तको आइपिओ खुला


  • गोकर्णेश्वर अनलाइन

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु ६७ लाख मूल्य बराबरको ६७ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो ।

कम्पनीले निष्कासन गरेको साधारण शेयरमा कूल जारी पूँजी (दुई लाख सात हजार कित्ता)को ०.५ प्रतिशत अर्थात् एक हजार ३५ कित्ता शेयर कर्मचारीलाई र निष्कासित शेयरको पाँच प्रतिशत अर्थात् तीन हजार ३५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी ६२ हजार ६५१ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ ।

सर्वसाधारणले असार ६ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म मागबमोजिम आवेदन नआए असार १५ गतेसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी बी प्लस आइएस’ ग्रेडिङ प्रदान गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology