• Monday 27th of July 2026

कैलाली–सुर्खेत ३३ केभी प्रशारण लाइन विस्तार हुँदै


  • गोकर्णेश्वर अनलाइन

कोहलपुर–सुर्खेत १३२ केभी प्रशारणलाइन निर्माणमा ढिलाइ हुने भएपछि नेपाल विद्युत प्राधिकरणले वैकल्पिक प्रशारणलाइन विस्तारको योजना अघि बढाएको छ । प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालयका अनुसार कैलालीको चिसापानीबाट ३३ केभी क्षमताको प्रशारणलाइन विस्तार गरी वीरेन्द्रनगरमा जडान हुने भएको हो ।

कम क्षमताको प्रशारण लाइनका कारण कर्णालीमा पटक–पटक विद्युत अवरुद्ध हुने समस्याका कारण उपभोक्ता मर्कामा छन् । प्राधिकरणका प्रादेशिक कार्यालय प्रमुख शम्भु यादवले कोहलपुर–सुर्खेत प्रशारणलाइन अन्तर्गत पर्ने बर्दिया राष्ट्रिय निकुञ्जमा रुख कटानसम्बन्धी प्रक्रियामा ढिलाइ हुँदा वैकल्पिक प्रशारण लाइनको प्रक्रिया अघि बढाइएको बताउनुभयो । “कैलाली–सुर्खेत ३३ केभी प्रशारणलाइन विस्तारका लागि ठेक्का आव्हान भइसकेको छ, ठेकेदारलाई सम्झौताका लागि बोलाइएको छ,” उहाँले भन्नुभयो, “यही असार १५ गतेसम्म सम्झौता गरी ठेकेदार कम्पनीलाई परिचालन गर्नेछौं ।”

कैलालीको चिसापानी–सोल्टा हुँदै सुर्खेतको बाबियाचौर सब–स्टेशन तथा त्यहाँबाट बड्डीचौर–बांगेसिमल हुँदै वीरेन्द्रनगरस्थित बुदबुदी सब–स्टेशनमा उक्त विद्युत जोडिनेछ । कैलालीको मोहन्याल गाउँपालिकाको सोल्टासम्म ३३ केभीलाइन यसअघि विस्तार भइसकेको छ । सोल्टाबाट बाबियाचौरसम्म लाइन विस्तारका लागि २४ किमी पोल र तार विस्तार गर्न थालिएको हो । बाबियाचौरमा सब–स्टेशन तीन वर्ष अघि नै निर्माण भइसकेको थियो । प्राधिकरणले सोल्टा–बाबियाचौर विद्युत विस्तारका लागि रु. ६ करोड बजेट छुट्याएको छ ।

प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालयले पश्चिम सुर्खेतमा ठूलो जनसंख्या विद्युत सेवाबाट बञ्चित रहेको, सुर्खेत लगायत कर्णालीका जिल्लामा ‘लो भोल्टेज’ का कारण पटक–पटक विद्युत अवरुद्ध हुने समस्या हुनु, पश्चिम सुर्खेतमा बेतन कर्णाली जलविद्युत आयोजना र सूर्यतारा सिमेन्ट उद्योग निर्माणका लागि ३३ केभी प्रशारणलाइन आवश्यक रहेको जनाएको छ । कर्णालीमा तीन दशक अघि निर्माण गरिएका जीर्ण र कम क्षमताका संरचनाका कारण विद्युत सेवा अनियमित छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology