• Monday 27th of July 2026

राष्ट्रिय समाचार समितिका अध्यक्ष झाद्वारा पदबहाली


  • गोकर्णेश्वर अनलाइन

राष्ट्रिय समाचार समिति (रासस) का नवनियुक्त कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले आफूले राससमा चुनौतीभन्दा अवसर धेरै देखेको बताउनुभएको छ । आज रासस केन्द्रीय कार्यालयमा पदबहाली गर्दै उहाँले मुलुक सङ्घीय संरचनामा गइसकेको र सञ्चार क्षेत्रमा आएको आमूल वृद्धि विकासलाई राससले अवसरका रूपमा उपयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “राससमा देशका सक्षम, योग्य र सम्बन्धित विषयका जानकार जनशक्ति हुनुहुन्छ, यस्तो अवस्थामा आगामी दिनमा सकारात्मक परिणाम आउने गरी काम गर्न सकिने विश्वास छ ।” अध्यक्ष झाले आफू राससमा ठूलो दायित्व बोध गरेर आएको उल्लेख गर्दै प्रभावकारीरूपमा काम गर्न समूहगत सहकार्यको खाँचो औँल्याउनुभयो । राससकर्मीले कुनै पनि काम गर्दा सदैव यो संस्था जनताको करबाट सञ्चालन भएको हो भन्ने हेक्का राख्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा महाप्रबन्धक सिद्धराज राईले अध्यक्ष झालाई स्वागत गर्दै पत्रकारिता क्षेत्रका अनुभवी र वरिष्ठ व्यक्तिलाई राससले नेतृत्वका रूपमा पाएकामा खुसी व्यक्त गर्नुभयो । साथै उहाँले कार्यकालभर राम्रो सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो । प्रशासन प्रमुख शीतलप्रसाद महतोले पत्रकारिताका गुरुका रूपमा स्थापित वरिष्ठ पत्रकारलाई राससले अध्यक्षका रूपमा पाउनु खुसीको कुरा भएको बताउँदै आगामी दिनमा राससले थप राम्रो काम गर्दै जाने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष रहनुभएका झालाई यही असार ६ गतेको मन्त्रिपरिषद्को बैठकले चार वर्षका लागि राससको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।क्याम्पस पढ्ने क्रममा विसं २०४३ मा भित्ते पत्रिकाबाट पत्रकारिता सुरु गर्नुभएका उहाँसँग त्यसयता अन्नपूर्ण पोष्ट दैनिक, हिमालय टाइम्स दैनिक, हिमालय टिभीलगायत मूलधार र मोफसलका दर्जनौँ मिडियामा उच्च तहमा रहेर काम गरेको अनुभव छ । नवनियुक्त अध्यक्ष झाले नेपाली मूलधारको पत्रकारितामा लामो अनुभव सँगाल्नुका साथै उहाँ नेपाली पत्रकारितामा अनुभवी प्रशिक्षक र सूचना हकको राष्ट्रिय अभियान्तासमेत हुनुहुन्छ ।

धनुषा स्थायी घर भएका उहाँले मिडिया टेक्नोलोजीमा स्नातकोत्तर शिक्षा हासिल गर्नुभएको छ । वरिष्ठ पत्रकार झा अध्यक्षमा नियुक्ति अघि कोशीअनलाइन डट कममा प्रधान सम्पादक र नयाँ पत्रिका दैनिकमा स्तम्भ लेखकका रूपमा कार्यरत हुनुहुन्थ्यो । दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका तालिम हासिल गर्नुभएका उहाँले विभिन्न संस्थामा सल्लाहारका रूपमा अनुभव हासिल गर्नुभएको छ ।

नेपाल प्रेस इन्स्टिच्युटका प्रशिक्षकसमेत रहिसक्नुभएका अध्यक्ष झाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामा सदस्य र विज्ञका रूपमा काम गर्नुभएको छ । साथै उहाँले सञ्चारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि संयुक्त राज्य अमेरिका, भारत, चीन, स्पेन, डेनमार्क, नर्वे, फिनल्याण्ड, फ्रान्स, अष्ट्रेलिया, जर्मनी, श्रीलङ्का, बङ्गलादेशलगायत विभिन्न देशको भ्रमण गर्नुभएको छ । उहाँ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology