• Sunday 26th of July 2026

पानीको गुणस्तर परीक्षण गर्न नमूना सङ्कलन


  • गोकर्णेश्वर अनलाइन

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का चारवटा पानी उद्योगको गुणस्तर परीक्षणको लागि नमूना सङ्कलन गरिएको छ । बजारमा बिक्री वितरण भइरहेको जार तथा बोत्तलको पानीको गुणस्तर नभएको जनाउँदै उपभोक्ताले गुनासो गरेपछि संयुक्त जिल्ला बजार अनुगमन समितिको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले पानीको गुणस्तर परीक्षणको लागि नमूना सङ्कलन गरेको हो ।

नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको नेतृत्वमा गएको संयुक्त बजार अनुगमन समितिले जिल्लामा सञ्चालित पानी उद्योगको अनुगमन गरी नमूना परीक्षणको लागि पठाएको घरेलु तथा साना उद्योग कार्यालय परासीका प्रमुख गङ्गाधर पाण्डेले जानकारी दिनुभयो ।

सरावल गाउँपालिका–२ स्थित शिवगङ्गा वाटर इण्डष्ट्रिज, सरावल–१ स्थित आरोग्य हर्बल उद्योग, प्रतापपुर गाउँपालिकास्थित नवदुर्गा वाटर कुलिङ उद्योग र बर्दघाट नगरपालिका–७ स्थित नेवा एक्वा उद्योगबाट उत्पादित जार तथा बोत्तलको पानी परीक्षणको लागि नमूना सङ्कलन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख विमलकुमार दाहालले बताउनुभयो ।
अनुगमन गर्दा केही पानी उद्योगले खाद्य अनुज्ञापत्रसमेत नलिएको पाएकोले तत्काल अनुज्ञापत्र लिएर मात्र पानी उत्पादन गर्न निर्देशन गरिएको उहाँले जानकारी दिनुभयो । परीक्षण गर्दा गुणस्तरमा कमी देखिए कारबाही प्रक्रिया अघि बढाउने कार्यालयले जनाएको छ । उद्योगले बजारमा पठाउन तयारी अवस्थामा राखेका जार पुराना, कुच्चिएका र लेवल नभएको अवस्थामा अनुगमन समितिले फेला पारेको छ ।

नवदुर्गा पानी उद्योग प्रतापपुरले बजारमा पठाउन तयार पारेको ३५ वटा जारमा लेउ लागेको, धेरै पुरानो तथा कुच्चिएको अवस्थामा फेला परेपछि तत्काल जफत जरी नष्ट गरिएको सहायक प्रजिअ अर्यालले जानकारी दिनुभयो । उक्त उद्योगले खाद्य अनुज्ञापत्रसमेत नलिएको पाइएको छ ।

पाल्हीनन्दन गाउँपालिका–३ मा सञ्चालित शीतल जल पानी उद्योग बेलाशपुर र त्रिवेणी एक्वा उद्योग कुश्मालाई पनि खाद्य अनुज्ञापत्र र दर्ता प्रमाणपत्रसहित तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन गरिएको छ । जिल्लामा ११ पानी उद्योग सञ्चालनमा रहेका छन् तर अधिकांश मापदण्डविपरीत सञ्चालनमा रहेको अनुगमन समितिले जनाएको छ । अधिकांश उद्योगले साइनबोर्ड नराख्ने, जारको पानीमा लेवल उल्लेख नगर्ने, अनुज्ञापत्र बिनै उत्पादन र विक्री वितरण गर्ने गरेको पाइएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology