• Saturday 25th of July 2026

नागरिकलाई सूचना र शिक्षा दिने दायित्वमा रासस प्रभावकारीरूपमा लागोस् : प्रधानमन्त्री देउवा


  • गोकर्णेश्वर अनलाइन

प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई सूचना र शिक्षा दिने आफ्नो जिम्मेवारीमा राष्ट्रिय समाचार समिति (रासस) अझ प्रमावकारीरूपमा अघि बढ्न सकोस् भन्नुभएको छ ।

राससले आजदेखि सुरुआत गर्न लागेको श्रव्य दृश्य (भिडियो) सेवाबारे दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री देउवाले भन्नुभएको छ, “नागरिकलाई सूचना दिनु भनेको उनीहरूको मौलिक हकको सम्मान गर्नु हो । सरकारको यो मान्यतालाई राससले ध्यानमा राखोस् र नागरिकलाई सूचना र शिक्षा दिने आफ्नो जिम्मेवारीमा अझ प्रभावकारीरूपमा अघि बढ्न सकोस् ।”

नेपालका आमसञ्चारमाध्यमहरूलाई समाचार प्रदान गर्दै आएको सेवा प्रदायक समाचार संस्था राससले आफ्नो स्थापनाको ६१औँ वर्षमा श्रव्य दृश्य (भिडियो) सेवा पनि सुरु गर्न लागेकामा प्रधानमन्त्री देउवाले खुसी व्यक्त गर्नुभयो ।

सूचना प्रविधिको द्रूतगतिमा विकास भइरहेको वर्तमान विश्वमा राससले पनि आफ्ना माध्यमहरूलाई परिमार्जन गर्दै जानु आवश्यक रहेको प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ । उहाँले सूचना र प्रविधिको विकाससँगै सोहीअनुरुप जनतालाई सही र तथ्यपरक समाचार पस्कने दायित्व राससको भएको पनि स्मरण गराउनुभएको छ ।

नेपालका सञ्चारमाध्यमहरूलाई स्वदेशी र विदेशी समाचारहरू उपलब्ध गराउँदै आएको राससले भिडियो सेवामार्फत आफ्ना सेवामा विविधिकरण ल्याउन सक्ने उहाँले अपेक्षा गर्नुभएको छ । प्रधानमन्त्री देउवाले राससले सुरु गर्न लागेको श्रव्य दृश्य (भिडियो) सेवाको सफलताको कामना पनि गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology