• Saturday 25th of July 2026

बजेट निर्माणमा अनाधिकृत व्यक्तिको सहभागिता छैनः पूर्वअर्थमन्त्री शर्मा


  • गोकर्णेश्वर अनलाइन

पूर्वअर्थमन्त्री जनार्दन शर्माले संसदीय समितिले सोधेका अधिकांश विषयमा आफूले स्पष्ट जवाफ दिएको बताउनुभएको छ ।

चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने सन्दर्भमा प्रतिनिधिसभाले गठन गरेको संसदीय छानबिन विशेष समितिले आज उहाँसँग सोधपुछ गरेको थियो ।

उक्त समितिले राखेका जिज्ञासाका बारेमा आफूले स्पष्ट जवाफ दिएको उहाँले बताउनुभएको हो । संसदीय समितिको बैठकमा आफ्नो धारणा राखेर बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “उहाँले सोध्नुभएका हरेक प्रश्नको जवाफ दिएको छु ।”

समितिको बैठकमा उहाँले बजेट तयारीका क्रममा कुनै पनि अनाधिकृत व्यक्तिलाई प्रवेश नगराएको तथा कुनै पनि अनाधिकृत काम नगरेको बताउनुभएको थियो । उहाँले अर्थमन्त्रीको हैसियतमा आफैँले करको दर हेरफेर गरेको र त्यसमा अनाधिकृत व्यक्तिको संलग्नता नगराएको समेत स्पष्ट पार्नुभयो । उहाँले आफूमाथि लागेको आरोप निराधार रहेकोसमेत उल्लेख गर्नुभएको थियो ।

पूर्वअर्थमन्त्री शर्माले विधि, नियम र कार्यविधिमा रहेर नै आफूले बजेट तय गरेको स्पष्ट पार्दै आफूलाई आरोप मात्र लगाइएको बताउनुभएको थियो । चौतर्फीरुपमा आलोचना भएपछि प्रतिनिधिसभाले गत असार २२ गते ११ सदस्यीय संसदीय समिति गठन गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले उक्त समितिलाई १० दिनको समयावधि दिनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology