• Saturday 25th of July 2026

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट


  • गोकर्णेश्वर अनलाइन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.७६ अङ्कले ओरालो लागेर दुई हजार १९३.४८ मा ओर्लेको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ओरालो लागेर ४२१.१३ मा ओर्लेको छ ।

कूल २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता शेयर रु तीन अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०६ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज छ उपसमूहको शेयर मूल्यमा उकालो लागेको छ भने सात उपसमूहको शेयर मूल्य भने गिरावट भएको छ ।

व्यापार ४३.४२, जलविद्युत् २८.२९, वित्त २४.२८, उत्पादन ०.९२, लघुवित्त ४१.६६ र सामूहिक लगानी कोष ०.०३ अङ्कले उकालो लागेका छन् । यस्तै, बैंकिङ ६.२६, होटल तथा पर्यटन २८.३२, विकास बैंक २२.३५, निर्जीवन बीमा ७.६६, अन्य १७.३१, जीवन बीमा ६२.६३ र लगानी ०.४४ अङ्कले ओरालो लागे ।

मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ३१ खर्ब ३२ अर्ब १६ करोड ५० लाख ६५ हजार ९६० बराबर रहेको छ । कारोबारका आधारमा शिवम सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु २९ करोड ३२ लाख २७ हजार १५६ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु नौ करोड ९५ लाख ४३ हजार ७२५, फरवार्ड माइक्रो फाइनान्स रु नौ करोड २४ लाख ७३ हजार १५३, गुडविल फाइनान्स रु नौ करोड चार लाख ३० हजार ८३६ र युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर रु सात करोड ६० लाख नौ हजार बराबरको कारोबार भयो ।

नेप्सेका अनुसार विन्दबासिनी हाइड्रोपावर ९.९९, समालिङ पावर कम्पनी ९.९८, हिमाल दोलखा हाइड्रोपावर ९.९७, रिभर फल्स पावर ८.५३, फरवार्ड माइक्रो फाइनान्सका लगानीकर्ताले ७.६९ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, राष्ट्र उत्थान लघुवित्त ४.२४, गुडविल फाइनान्सको ऋणपत्र ३.९५, किसान लघुवित्त ३.९०, गणपति लघुवित्त ३.६४ र सपोर्ट माइक्रो फाइनान्सका लगानीकर्ताले ३.३८ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology